शनिबार, असोज ५ गते २०८१    
images
images

७ रोपनी जग्गामा २५ करोड खर्चेर बनाएको भवनबाट सुरु भयो चन्द्रागिरि नगरपालिकाको काम

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २४ २०७८
images
images
७ रोपनी जग्गामा २५ करोड खर्चेर बनाएको भवनबाट सुरु भयो चन्द्रागिरि नगरपालिकाको काम

सात रोपनी जमिनमध्ये तीन रोपनीमा प्रशासकीय भवन बनेको छ भने चार रोपनीमा बाहिरी बगैँचा लगायतको संरचना निर्माणाधीन छन्।

images
images

काठमाडौं- काठमाडौं जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरि नगरपालिकाले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको  छ। उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखि झ्याल शैलीमा नवनिर्मित ६ तलाको भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ।

images
images
images

नयाँ भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा नगरवासीले एकीकृत रुपमा पाउने छन्। यसअघि नै पशु सेवा कार्यालयको भवन १ करोड ५७ लाख रूपैयाँको लागतमा सम्पन्न भइसकेको जनाइएको छ।

चन्द्रागिरि-१२  गुर्जुधारामा रहेको सात रोपनी जमिनमध्ये तीन रोपनीमा प्रशासकीय भवन बनेको छ भने चार रोपनीमा बाहिरी बगैँचा लगायतको संरचना निर्माणाधीन छन्। काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर ‘चन्द्रागिरि नगरपालिका’ बनाइएको थियो। बाल, जेष्ठ नागरिक र अपाङगतामैत्री नवनिर्मित भवन अधिकांश नगरवासीलाई पायक पर्ने स्थानमा बनेको नगरवासीको ठम्याइ छ।

भूकम्पप्रतिरोधि र अग्नी नियन्त्रक उपकरण जटित नयाँ भवनमा करिब २ सय क्षमताको सभाहलसहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ’ छ।  

images

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले सोमबार आयोजित एक कार्यक्रममा संयुक्त रुपमा भवनको उद्घाटन गरे। उनीहरुले नै विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गरेका थिए।

ती दुई स्थानीय तहका संयुक्त साझेदारीमा २५ करोड रूपैयाँको लागतमा भवनसहित बााहिरी आकर्षक बगैँचा सम्पन्न हुन लागेको हो। सो रकम मध्ये समन्वय समितिको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ।

रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले  ठेक्का पाएको सो भवन  सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड-१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ।

नगरपालिकाका १५ वडामध्ये अधिकाशंले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सफल भएका छन्। पछिल्लो समय वडा नं ३ र ४ वडाको नयाँ कार्यालय भवन हाल मात्र निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेलले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, माघ २४ २०७८०५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend