सुर्खेत- एकवर्षको अवधिमा कर्णाली प्रदेशका १३ लाख ३५ हजार जनसंख्याले स्वास्थ्य प्राप्त गरेका छन्। प्रदेशका १० वटै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उक्त संख्यालाई स्वास्थ्य सेवा प्रदान गरिएको हो।
२०८१ बैशाखदेखि चैतसम्ममा स्वास्थ्य संस्थाहरुबाट विभिन्न सेवा लिएका नागरिकहरुको तथ्यांक प्रदेश सरकारले सार्वजनिक गरेको छ। यसलाई प्रदेश सरकारले उपलब्धि मानेको छ। कर्णालीका गाउँमा अस्पताल पुगेपछि नागरिको स्वास्थ्य पहुँचमा वृद्धि भएको मुख्यमन्त्री यामलाल कँडेल बताउँछन्।
कर्णालीलाई सिटामोलसमेत नपाउने प्रदेशका रुपमा व्याख्या गरिँदै आएकामा अब सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्न सक्ने स्थिति बनेको उनले दाबी गरे। त्यस्तै शिक्षा क्षेत्रमा पनि कर्णाली सरकारले नवीनतम् कामको सुरुआत गरेको जनाएको छ।
मुख्यमन्त्री कँडेलले प्रस्तुत गरेको एकवर्षको प्रगति विवरणमा ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ सुरु भएको र हाल १३ वटा विद्यालय छनोट भई कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ।
जुम्ला र मुगु जिल्लालाई साक्षर घोषणा गरिनुलाई पनि उपलब्धि विवरणमा समावेश गरिएको छ। साथै १० वर्षे शिक्षा योजना प्रक्रियामा रहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए। रासस