काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कमजोर अर्थतन्त्र सुधार्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनले शक्ति र पहुँचका आधारमाभन्दा पनि आवश्यकताका आधारमा बजेट ल्याउनु पर्ने बताएका हुन्।
सरकारमा रहेका नेताको गोजीबाट बजेट बन्ने र उनीहरुको निर्वाचन क्षेत्रलाई मात्र पैसा दिने स्थितिको अन्त्य हुनुपर्ने उनको भनाइ छ। ‘बजेट पुस्तिका च्यातेर विरोध गर्नुपर्ने अवस्थाको अन्त्य होस्’ उनले भने। साथै २०८१ चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका लागि आयोग गठनको माग राप्रपाले दोहोर्यएको छ।
उक्त घटनाका क्रममा प्रदर्शनकारीबाट भन्दा पनि सरकारपक्षबाट दमन भएको अध्यक्ष लिंदेनको आरोप छ। ‘यदि त्यो घटना सुनियोजित थियो भने कुनै पनि प्रदर्शनकारीबाट प्रहरीले किन हतियार पक्रन सकेन? प्रदर्शनकारीबाट लट्ठीसम्म बरामद भएको देखिँदैन’ उनले भने, ‘तर प्रहरीबाट ६५० भन्दाबढी राउण्ड अश्रुग्यास चलेको छ, अरु विभिन्न खालका फायरिङ भएका छन्।’
उक्त प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको सांसद लिङ्देनको भनाइ छ।प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरु पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उनले लगाए।
त्यस्तै, राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको समेत उनको अरोप छ। ‘राजाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध होइन, राजसंस्था र लोकतन्त्र एकअर्काका विकल्प होइनन्’ उनले भने। विश्वमा कतिपय देशमा राजसंस्थासहितको उन्नत प्रजातन्त्र प्रयोगमा रहेको पनि उनले बताए।
राजनीतिक दल र सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको आरोप पनि लिङ्देनको छ। लोकतन्त्रको विरोधी र पक्षमा को छ भनेर व्यवहारले देखाउने उनको भनाइ छ। रासस