शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

बजेट अधिवेशन नागरिकको विकास आकांक्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ : सांसद विष्ट

images
शुक्रबार, वैशाख १२ २०८२
images
images
बजेट अधिवेशन नागरिकको विकास आकांक्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ : सांसद विष्ट

नेपालको न्यून आर्थिक वृद्धि, कमजोर उत्पादकत्व, उच्च व्यापार घाटा, वैदेशिक रोजगारीको बढ्दो निर्भरता, शिक्षा प्रणालीको व्यावहारिक असान्दर्भिकता र स्वास्थ्य सुविधाको पहुँच अभावजस्ता मुद्दाहरूबारे सांसद् विष्टले संसद्को ध्यानाकर्षण गराए।

images
images

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा सांसद गोकर्णराज विष्टले नागरिकका विकास र समृद्धिका आकांक्षा पूरा गर्नेगरी संसद्को चालु अधिवेशन केन्द्रित हुनुपर्ने बताएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा उनले संसद्को गरिमा कायम राख्दै राजनीतिक दल तथा सरकारले नागरिकको असन्तुष्टि चिर्नेगरी काम गर्नसक्नुपर्नेमा जोड दिए।

images
images

संसद्लाई जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलोका रूपमा चित्रण गर्दै विष्टले संसद्को सञ्चालन संयमित, शिष्ट र अनुशासित ढंगले हुनुपर्ने बताए। 'यदि संसद्ले नागरिकमा आशा जगाउने गरी काम गर्न सक्यो भने त्यो नै लोकतन्त्रको मूल्य र विश्वासप्रतिको सम्मान हुनेछ', उनले भने, 'संसद्‌मा विगतका अधिवेशनहरूबाट पाठ सिक्दै चालु अधिवेशनलाई परिणाममुखी बनाउनुपर्छ।'

images
images
images

संसद् सञ्चालनमा विगतमा देखिने गरेको अवरोध र खिचातानीका कारण पनि नागरिकमा निराशा बढाइरहेको सन्दर्भमा सांसद विष्टले जनहितका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे। नागरिकमा देखिएको असन्तुष्टिलाई देखाएर अराजकता र अस्थिरता चाहने शक्तिहरू सक्रिय रहेकाले गणतन्त्र स्थापनापछि जनताले विकास र समावेशीताको प्रत्याभूति खोजिरहेको उनको धारणा थियो।

नेपालको न्यून आर्थिक वृद्धि, कमजोर उत्पादकत्व, उच्च व्यापार घाटा, वैदेशिक रोजगारीको बढ्दो निर्भरता, शिक्षा प्रणालीको व्यावहारिक असान्दर्भिकता र स्वास्थ्य सुविधाको पहुँच अभावजस्ता मुद्दाहरूबारे सांसद् विष्टले संसद्को ध्यानाकर्षण गराए। अर्थतन्त्र र विकासमा देखिएका समस्या समाधान गर्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आउनुपर्ने उनको सुझाव छ।

'देशको उत्पादनसँग शिक्षा प्रणाली जोडिएको छैन। खाद्य सुरक्षामा समेत हामी आत्मनिर्भर छैनौँ। यस्तो अवस्थामा आयातमुखी उपभोग प्रवृत्तिले देशको अर्थतन्त्र झनै कमजोर बनाएको छ', विष्टले भने।

न्यून पुँजीगत खर्च र चालु खर्च बढ्ने प्रवृत्तिले आर्थिक रूपान्तरणमा चुनौती थपिएको उल्लेख गर्दै उनले यी प्रवृत्तिका कारण तीव्र विकास र समृद्धिप्रति जनताले राखेका आकांक्षाहरू पूरा गर्न नसकिएको तर्क गरे। यस्तै, तीन तहका सरकारबीच समन्वयको अभाव, सहकारी क्षेत्रको विकृति र न्याय प्रणालीको ढिलासुस्ती जस्ता कमजोरीबारे पनि उनले धारणा राखे। 

संसद्को चालु बजेट अधिवेशन समस्या समाधानतर्फ केन्द्रित हुन सक्यो भने मात्रै संसद्प्रति जनताको विश्वास पुनःस्थापित हुने विष्टको बुझाइ छ। उनले संसद्‌मा प्रतिनिधित्व गर्ने सांसदहरूले संविधान प्रतिकूल गतिविधि गर्न नहुने चेतावनी पनि दिए। लोकतन्त्रमा बहस र विमति स्वाभाविक हुने तर त्यसलाई संसदीय अभ्यासभित्रै समेटेर समाधान खोज्नु आजको आवश्यकता भएको विष्टको भनाइ छ। 

संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गर्ने र लोकतन्त्रलाई थप परिस्कृत गरिनुपर्ने उल्लेख गर्दै उनले पछिल्लो समय लोकप्रियतावाद र अराजकतावाद हाबी हुँदै गएकामा चिन्ता व्यक्त गरे।

'जे पनि बोल्ने तर त्यसको जिम्मेवारी लिन नपर्ने स्थिति विभिन्न देशमा देखिएका छन्। नेपालको सन्दर्भमा पनि जे पनि बोल्ने, व्यवहारमा नउतार्ने प्रवृत्ति देखिएको छ', विष्टले भने, 'यो लोकप्रियतावादले नागरिकका आकांक्षा पूरा गर्न सकेको छैन।'

अहिलेको सत्ता गठबन्धनको आयुबारे देखिएका अन्यौलताबारे उनले सरकारको आयु कति दिन रहन्छ भन्नेभन्दा पनि जनता र देशको हितमा कति काम गर्छ भन्ने महत्वपूर्ण भएको उल्लेख गरे। रासस


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२१५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend