शनिबार, असोज ५ गते २०८१    
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने सुनको परिमाण फेरि बढ्न थाल्यो

images
सोमबार, माघ २४ २०७८
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने सुनको परिमाण फेरि बढ्न थाल्यो

विदेशबाट नेपाल फर्कंदा सुनको गहना भन्दै काँचो सुन ल्याउने क्रम फेरि बढ्न थालेको हो।

images
images

काठमाडौं- विदेशबाट नेपाल फर्कंदा सुनको गहना भन्दै काँचो सुन ल्याउने क्रम फेरि बढ्न थालेको छ। विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईका अनुसार पछिल्ला दिनहरूमा फेरि सुनलाई गहना भन्दै ल्याउने काँचो सुनको परिमाण बढ्न थालेको छ।

images
images
images

उनका अनुसार एक सातादेखि दैनिक २ देखि ३ केजीसम्म सुन आउन थालेको छ। प्राय विदेशबाट आउनेहरूले सुनका तारहरूलाई कटिङ गर्ने र कटिङ गरेपछि त्यसलाई घुमाएर बाला हो भन्ने वा त्यसलाई केही फन्को बनाएर औँठी हो भन्दै ल्याउने सुन आयात बढ्न थालेको छ।

भन्सार कार्यालयका प्रमुख भट्टराईका अनुसार मंसिर १३ गतेबाट फागनु २२ गतेसम्म २ सय ९ केजी सुन आएको छ। मंसिर १३ गतेबाट भएको विशेष निगरानीपछि सुन ल्याउने र आउने परिमाणमा कमी आएको थियो। तर फेरि अहिले तस्करहरूले सुन नेपाल पठाउन थालेका छन्।

भन्सार कार्यालयले मंसिर १३ गतेबाट गरेको अनुगमनका क्रममा दुई सातामा ७४ करोड रुपैयाँ बराबरको सुन नियन्त्रणमा लिएको थियो। त्यसपछि सुन आयातमा कमी आएको थियो। कार्यालयले मंसिरमा २ साताकै अवधिमा ९४.१६ किलो सुन नियन्त्रणमा लिएको थियो।

images

मंसिरमा २ हजार ५२ जनाबाट उक्त सुन नियन्त्रणमा लिइएको थियो। जसमा १ हजार ८ सय १७ जनाले सरकारले तोकेको राजस्व तिरेर सुन फिर्ता लगेको थिए। अहिले फेरि काँचो सुनलाई गहना भन्दै ल्याउनको संख्या बढेको हो। मंसिरको दुइ सातामै कार्यालयले ८ करोड ३८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको गरेको थियो।

अहिले फेरि सुन ल्याउनेको संख्या बढेको कार्यालयले जनाएको छ। मंसिरमा सुन तस्करले अवैध तवरबाट सुन नेपाल भित्र्याउने गरिएको भन्ने सूचनाको आधारमा अर्थ मन्त्रालय र भन्सार विभागबाट थप जनशक्ति खटाइ विशेष निगरानीमा अनुगमन भएको थियो।

८० प्रतिशत सुन वैदैशिक रोजगारीमा गएका युवाले भरियाको रुपमा नेपाल भित्र्याउन गरेको कार्यालयको निष्कर्ष थियो। यसैगरी १० प्रतिशत वैदेशिक रोजगारीमा गई नेपाल फर्कंदा व्यक्तिगत परियोजनका लागि र १० प्रतिशत पर्यटक भिसामा विदेश भ्रमण गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोजनका लागि सुन ल्याउने गरेको तथ्य रहेकोसमेत कार्यालयले ठहर गरेको थियो।

फेरि पछिल्लो दिनमा वैदेशिक रोजगारीमा गई भरियाको रुपमा सुन ल्याउनेको संख्या बढेको कार्यालयको भनाइ छ। ‘बीचमा केही समय दैनिक रुपमा कहिले १ किलो त कहिले आधा केजी आइरहेको थियो,’ भट्टराईले भने, ‘तर अहिले फेरि दैनिक ३ केजी सम्म  आउन थालेको छ।’

कार्यालयका अनुसार गहना भनी सुनको तारलाई बाला बनाएर ल्याउनेको संख्या बढी छ। पछिल्लो दिन भने सुनको तारलाई ८–९ फन्को बनाएर औँठीको रुपमा ल्याउने क्रम बढेको कार्यालयको भनाइ छ।

विदेशबाट आउँदा कस्तो सुन कति ल्याउन पाइन्छ

कानूनले सुन ल्याउँदा २ वटा व्यवस्था गरेको छ। पहिलो व्यवस्था हो सुनको गहना ५० ग्राम, चाँदीको गहना ५ सय ग्राम र १ लाख रुपैयाँसम्मको जवारित जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया ल्याउँदा भन्सार नलाग्ने व्यवस्था गरेको छ।

तर गहना पनि २ सय ५० ग्रामभन्दा बढीको ल्याउन पाइँदैन। ५१ ग्रामदेखि १ सय ५० ग्रामसम्म प्रतिग्राम १ हजार ५० रुपैयाँ र थप १५१ देखि २ सय ५० ग्रामसम्मको प्रति ग्राम १ हजार २ सय रुपैयाँ भन्सार लाग्छ।

काँचो सुनमा के छ त व्यवस्था

विदेशबाट आउँदा १ सय ग्रामसम्म काँचो सुन ल्याउन पाइन्छ। तर भन्सार भने तिर्नु पर्ने हुन्छ। ५० ग्रामसम्मको काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ९ हजार ५ सय रुपैयाँका दरले तिर्नु पर्ने हुन्छ। त्यसमा थप ५ सय ६५ रुपैयाँ लाग्ने छ। यसरी ५० ग्रामसम्म काँचो सुन ल्याउँदा ४८ हजार ६५ रुपैयाँ लाग्छ।

यसैगरी कसैले १ सय ग्राम काँचो सुन ल्याएको छ भने ५१ ग्रामदेखि १ सय ग्रामसम्मको हकमा थप प्रतिदश ग्राम १० हजार ५ सय रुपैयाँका दरले ५२ हजार ५ सय रुपैयाँ गरी कुल १ लाख ५ सय ६५ रुपैयाँ तिर्नु पर्ने हुन्छ। तर १ सय ग्रामभन्दा बढी काँचो सुन ल्याए जफत हुने व्यवस्था छ।

अहिले कसरी सनुमा अनुगमन भइरहेको छ

भन्सार कार्यालयले अहिले विदेशबाट आउनेले आफ्नो साथमा ल्याएको सुनको गहना तथा काँचो सुनमा कानूनले तोके अनुसार भन्सार लगाउने तथा छुट दिइरहेको भट्टराई बताउँछन्।

उनले कानूनले तोकेको अधिकार क्षेत्रभित्र असल नियतले ल्याइएको सुनको गहना तथा काँच सुनमा कुनै समस्या खडा नभएको दाबी गरेका छन्।

‘असल मनासयका साथ गरिएको व्यवस्थाको दुरुपयोग गर्दै सुनका तारहरूलाई कटिङ गर्ने र यति कटिङ गर्दा ५० ग्राम हुन्छ भनेर सफ्लायरले जानेको हुन्छ,’ उनले भने, ‘कटिङ गरेपछि त्यसलाई घुमाएर बाला हो भन्ने वा त्यसलाई केही फन्को बनाएर औँठी हो भन्ने  देखाएर तस्करले नेपाल ल्याउने प्रवृति बढ्यो।’

कार्यालय नियन्त्रणमा लिएको ९९ प्रतिशत गहना भनिए पनि त्यो काँचो सुन नै भएको उनको दाबी छ।  ‘त्यसमा पनि ९९ प्रतिशत महिलाले गहना लगाउँछन्,’ उनले भने, ‘ हामीले त्यसमा केही गरेका छैनौं। पुरुषले लगाएर आउने सुनमा पनि कुनै समस्या छैन।’


प्रकाशित : सोमबार, माघ २४ २०७८०६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend