मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार घटिरहेको सेयर बजारमा देखियो सामान्य सुधार, आगामी साता पाउला वृद्धिको साथ?

बिहीबार , वैशाख ११ २०८२
लगातार घटिरहेको सेयर बजारमा देखियो सामान्य सुधार, आगामी साता पाउला वृद्धिको साथ?

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहँदा यो साता बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिन्छ।

काठमाडौं- उतारचढावबीच लगातार घटिरहेको सेयर बजारको ओरालो यात्रा थामिएको छ। लगानीकर्ता विश्वस्त हुन नसक्दा यो साताभर घटेको बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने सामान्य बढेको छ।

बिहीबार २.०८ अंकले बढेर बजार २६५८.०२ बिन्दुमा पुग्दा ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रूपैयाँको कारोबार भएको छ। ८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा आज १ सय ६१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

गएको वर्ष समग्रमा राम्रो सुधार देखिएको सेयर बजारमा यो वर्षको तीन कारोबारले पनि सुखद् संकेत गरे पनि यो साता भने लगानीकर्ताका लागि दु:खद् रह्यो। साताभर घटेको बजार अन्तिम कारोबारमा भने वृद्धितर्फ लागेसँगै लगानीकर्तालाई राहत मिलेको छ।

यो साता पहिलो कारोबार दिन आइतबार १६.६८ अंकले घटेर २७०६.४ बिन्दुमा पुगेको बजार सोमबार ७.७५ अंकले घटेर २६९८.२८ बिन्दुमा ओर्लिएको थियो। मंगलबार ९.९६ अंकले घटेर २६८८ बिन्दुमा झरेको बजार साताको चौथो कारोबार दिन बुधबार पनि ३२.३८ अंकले घटेर २६५५.९४ बिन्दुमा ओर्लिँदा ७ अर्ब ५७ करोडको कारोबार भएको थियो।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहँदा यो साता बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिन्छ। अहिले बजारको अवस्था यकिन गर्न नसकिने भए पनि सुधारतर्फ जाने अवस्था देखिएको विश्लेषकहरू बताउँछन्।

पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend