दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नापनक्सांकनको काम सुरु गरेको छ। राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेकाे हो।
तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यसअघि वडा नम्बर ६ मा एक हजार २६५ कित्ताको ५ लाख ३४ हजार ९८९.८७ वर्ग मिटर क्षेत्रफल जग्गा नापनक्सांकन सम्पन्न भएको बताए। उनका अनुसार वडा नं. ६ मा करिब ७५ प्रतिशत नापनक्सांकनको काम सकिएको छ।
राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँचकार्य अगाडि बढाइएको बताएका छन्। साथै तुलसीपुरमा सुरु गरिएको नापनक्सांकनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनासम्म भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने उनकाे भनाइ छ।
जिल्लाको शान्तिनगर, बबई, राप्ती र राजपुर गाँउपालिकामा जंगल क्षेत्रभित्र भूमिहीन दलित, सुकुम्बासीले वर्षौँदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नाँपजाँचमा समस्या देखिएको अध्यक्ष बस्नेत बताउँछन्।
उपमहानगरपालिका प्रमुख टीकाराम खड्काकाले पालिकाभित्र अहिले २३ हजार ३२६ जना भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको जनाएका छन्। भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपुर्जा वितरण गर्ने तयारी छ। रासस