काठमाडौं- नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङमाथि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (ग) बमोजिम कारबाही गरेको छ।
बैंकको खराब कर्जा अनुपात ३३.४४ प्रतिशत पुग्नुका साथै पुँजीकोष ऋणात्मक अवस्थामा पुगेपछि गुरुङलाई पाँच लाख रुपैयाँ जरिवाना तिराइएको र उनलाई सीईओ पदबाट बर्खास्त गरिएको हो।
राष्ट्र बैंकले गुरुङलाई पदबाट हटाएसँगै पोखरा फाइनान्समाथि बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिमको प्रक्रिया सुरु गरेको छ।
गुरुङको बर्खास्तीपछि पोखरा फाइनान्सको सञ्चालक समितिले प्रकाश गुरुङलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
राष्ट्र बैंकले हाल पोखरा फाइनान्सलाई नयाँ निक्षेप तथा कर्जा खाता खोल्न रोक लगाएको छ। साथै, कर्जा प्रवाह तथा निक्षेप संकलनमा समेत प्रतिबन्ध लगाइएको छ। कर्मचारीहरूको तलब, भत्ता तथा अन्य सेवा सुविधामा वृद्धि गर्न नपाउने व्यवस्था गरिएको छ, भने उच्च व्यवस्थापन तहका कर्मचारीको बढुवा राष्ट्र बैंकको पूर्व स्वीकृतिमा मात्र सम्भव हुनेछ।
राष्ट्र बैंकका अनुसार फाइनान्सको प्राथमिक पुँजीकोष ५० देखि ७० प्रतिशतले घटिसकेको छ। यही कारण, आगामी ६ महिनाभित्र संस्थाले तोकिएको पुँजीकोष अनुपात पुरा गर्न नसके राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम थप कारबाही अघि बढाइनेछ।
मंसिर मसान्तमा सार्वजनिक तथ्याङ्कअनुसार पोखरा फाइनान्सको पुँजीकोष ८ प्रतिशतभन्दा बढीले ऋणात्मक भइसकेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाले ६३ करोड ७९ लाख रुपैयाँको खुद नोक्सानी व्यहोरेको छ। साथै, दोस्रो त्रैमासमा पुँजीकोष ३.१७ प्रतिशतले ऋणात्मक देखिएको छ।
राष्ट्र बैंकले फाइनान्सीय अनुशासन कायम गर्न र निक्षेपकर्ताको हित सुरक्षित राख्न यस्ता कारबाहीहरू आवश्यक भएको बताएको छ।