काठमाडौं- सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकको १८ वर्ष पूरा नभएका सन्तानले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।
कोषले सुरुमा आबद्ध भएका श्रमिकको स्वास्थ्य उपचार खर्च बेहोर्नेगरी औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना ल्याएको थियो। कार्यविधि संशोधन गरी नयाँ व्यवस्था गरिएको हाे।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पाँचौ संशोधनसम्म आइपुग्दा श्रमिकको पति/पत्नी र १ वर्ष उमेर नपुगेका सन्तानको समेत स्वास्थ्य उपचार शुल्क तिर्ने व्यवस्था गरिएको छ।
२०८२ को बैशाख १ गतेबाट नै कोषले श्रमिकको श्रीमान/श्रीमतीसँगै बालबच्चाको पनि उपचार शुल्क बेहोर्न थालेको हो। तर त्यसबापत पाउने रकम पनि निश्चित छ।
एकजना मात्रै कोषमा आबद्ध छन् भने १ लाख रूपैयाँसम्म उपचार खर्च पाउने छन्। श्रमिकको श्रीमान तथा श्रीमती नै आबद्ध छन् भने २ लाख रूपैयाँसम्मको सीमामा रहेर उपचार खर्च पाउने छन्।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा ३ वटा योजना सञ्चालनमा ल्याएको छ।
पहिलोमा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना रहेको छ भने दोस्रोमा योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई मातृत्व सुरक्षा योजना कोष सञ्चालनमा ल्याएको छ। यसैगरी तेस्रोमा घातक रोगको औषधि उपचार सुरक्षा योजना रहेको छ।
कोषले ल्याएको औषधि, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा सहभागी हुनका लागि केही सर्त भने पूरा गर्नुपर्ने छ।
औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना र योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई दिने मातृत्व सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अवस्था सिर्जना हुनुभन्दा अघिका पछिल्ला ६ महिनाको योगदानमा कम्तिमा ३ महिना नियमित योगदान गर्नु पर्नेछ।
यस्तो अवस्थामा योगदानकर्ता, निजको पति वा पत्नी र १८ वर्ष ननाघेका छोराछोरीले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना र महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताको पत्नीले मातृत्व सुरक्षा योजनाको सुविधा पाउने छन्।
तर कोषमा योगदान सुरु गरेका योगदानकर्ताले पहिलो ३ महिनाको नियमित योगदान गरेपछि मात्रै याे सुविधा प्रारम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भइ योगदान गर्न छाडेको ३ महिनासम्म सुविधा पाउने छन्।
घातक रोगको औषधि उपचार सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि भने सिर्जना हुनुभन्दा अघिका पछिल्ला २८ महिनामा कम्तिमा २४ महिना कोषमा नियमितरुपमा योगदान गरेको हुनपर्छ। योगदानकर्ताले योगदान गर्न छाडेको मितिले २४ महिनासम्म यो सुविधा लिन पाउने छन्।
तर कोषले सञ्चालन गरेको वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तभरण पाइरहेको योगदानकर्ताको हकमा निवृत्तभरणको सुविधा प्रारम्भ गरेको मितिले ७ वर्षसम्ममात्रै यो सुविधा प्राप्त हुनेछ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत पाइने सुविधाहरु
- चिकित्सकको परामर्श सेवा
- अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क
- रोग परीक्षण तथा उपचार बापतको खर्च
- औषधिको बिलबमोजिमको खर्च
- पुरुष योगदानकर्ताको पत्नी वा महिला योगदानकर्ता गर्भवती भइ नियमित गर्भ परीक्षण गराउँदाको खर्च, अस्पताल भर्ना भइ प्रसुतिसम्बन्धी शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पतालमा सुत्केरी हुँदाको खर्च, सुत्केरी भएको ६ सातासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशुको उपचारबापतको खर्च
- अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवतजावत गर्न नसक्ने अवस्थामा घरैमा बसी उपचार गराएको अवस्थामा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको घरमै गइ प्रदान गरेको परामर्शबापतको शुल्क
- योगदानकर्ताको पति, पत्नी वा १८ वर्ष उमेर पूरा नभएका छोराछोरीको दुर्घटनासम्बन्धी उपचार गराउँदा एक लाख रूपैयाँमा नबढ्ने गरी
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाबापत पाउने सुविधाको सीमा
- अस्पतालमा भर्ना भइ उपचार गराउनुपर्ने योगदानकर्ता, योगदानकर्ताको पति वा पत्नी र योगदानकर्ताको १८ वर्ष उमेर ननाघेका सन्तानकाे हकमा वार्षिकरुपमा प्रदान गरिने अधिकतम एकलाख रूपैयाँमा नबढ्ने गरी भुक्तानी हुनेछ।
- यसरी भुक्तानी गरिने रकममा निज योगदानकर्ताले सोही आर्थिक वर्षमा सुविधा उपभोग गरिसकेको भए उक्त सुविधाबापत उपयोग गरेको रकम कट्टा गरी बाँकी हुन आउने रकममात्र भुक्तानी हुने।
- योगदानकर्तालाइ लागेको घातक रोगको उपचारका लागि घातक रोगको औषधि उपचार सुरक्षा योजनाअन्तर्गत उपलब्ध गराइने रकमको हकमा निजको जम्मा सेवा अवधिभर एकैपटक वा पटकपटक गरी दश लाख रूपैयाँसम्म भुक्तानी हुनेछ।
- कोषमा कम्तीमा साठी महिना नियमित योगदान गरेका योगदानकर्ताले सुविधा पाउन योग्य भएमा कोषको अनलाइन प्रणालीमा जोडिएको अस्पतालमा भर्ना भइ उपचार गराउँदा एक लाख रूपैयाँभन्दा बढी दश लाख रूपैयाँसम्मको उपचार खर्चमा त्यसरी खर्च भएको रकमको ५० प्रतिशत रकम कोषबाट अस्पताललाई भुक्तानी हुने।
अस्पताल भर्ना भइ उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्ता, योगदानकर्ताको पति वा पत्नी र योगदानकर्ताको १८ वर्ष उमेर ननाघेका सन्तानकाे हकमा चिकित्सकको प्रेस्किप्सनका आधारमा दफा ५ बमोजिमको सुविधाअन्तर्गत वार्षिकरुपमा बढीमा बिस हजार रूपैयाँ प्रदान गरिनेछ।
समग्रमा योगदानकर्ताको १८ वर्ष ननाघेका छोराछोरीको स्वास्थ्य उपचारबापत पनि योगदानकर्ताको वार्षिक १ लाख रूपैयाँको सीमाभित्रैबाट हुनेछ। जस्ताे कि योगदानकर्ता पुरुष श्रमिक छ भने उसले पाउने १ लाख रूपैयाँको औषधि उपचार तथा स्वास्थ्य सेवा शुल्कको रकमभित्रै रहेर श्रीमती र १८ वर्ष ननाघेका छोराछोरीको खर्च बेहोर्ने कोषले जनाएको छ।
यसैगरी श्रीमान-श्रीमती नै कोषमा छन् भने उनीहरुको उपचारमा भएको खर्च कट्टी गरी छोराछोरीको उपचार खर्च बेहोर्ने कोषले जनाएको छ। श्रीमान्-श्रीमती नै कोषमा आबद्ध छन् भने त्यो रकम २ लाखसम्म हुनेछ।