बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा दुई कम्पनी प्राविधिक रूपमा छनोट

मंगलबार, वैशाख ९ २०८२
१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा दुई कम्पनी प्राविधिक रूपमा छनोट

१०६ मेगावाट क्षमतामा निर्माण हुने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

काठमाडौं- १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्कामा आवेदन दिएका चार कम्पनीमध्ये दुई कम्पनी मात्रै प्राविधिक रूपमा छनोट भएका छन्। ती दुईमध्ये एक कम्पनीले निर्माणको ठेक्का पाउने छन्।

जियाङक्षी कन्स्ट्रक्सन इन्जियनिरियङ (ग्रुप) कर्पोरेशन लिमिटेड र एनएनके कन्स्ट्रक्सन कम्पनी प्रालिको जेभी र सिनो हाइड्रो कर्पोरेशन लिमिटेड प्राविधिक रूपमा छनोट भएको आयोजनाले जनाएको छ। दुवै कम्पनीको आर्थिक प्रस्ताव बैशाख २४ गते खोलिने छ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १९ देखि फागुन २१ गतेसम्म आवेदन दिन सक्नेगरी सूचना प्रकाशित गरेको थियो। जसमा चार कम्पनीले आवेदन दिएका थिए।

यसअघि आवेदन दिएका ७ वटै कम्पनी प्राविधिकरूपमा असक्षम रहेको भन्दै गत पुस २३ गते ठेक्का रद्द गरिएको थियो। जसका कारण कम्पनीसमेत विवादमा परेको थियो। पछिल्लोपटक भएको ठेक्का आह्वानमा भने चार कम्पनीले मात्रै आवेदन दिएका थिए। पटकपटक ठेक्का आह्यन हुने र कम्पनी छनोट नहुँदा कर्णालीकै आकर्षक मानिएको १०६ मेगावाटको क्षमताको परियोजना अन्योलमा परेको थियो।

१०६ मेगावाट क्षमतामा निर्माण हुने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा कम्पनीले १६ अर्ब ऋण र ७ अर्ब रुपैयाँ स्वपुँजीबाट जुटाइने गरी वित्तीय व्यवस्थापन टुंगो लगाइएको थियो।  

संस्थापक सेयरधनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको सेयर स्वामित्व छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण ९ प्रतिशत, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक-एक प्रतिशत बराबरको सेयर स्वामित्व छ।

सर्वसाधारण सेयरधनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन-तीन प्रतिशत बराबरको सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ। कम्पनीको अधिकृत पुँजी ८ अर्ब, जारी पुँजी ७ अर्ब १ करोड र चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँबराबर छ।

आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ। जग्गा अधिग्रहण कार्यअन्तर्गत दुई सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ।

नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापनको काम भएको छ। सो बैंकले चार अर्ब ७० करोडबराबर लगानी गर्नेछ। यस्तै नबिल बैंकले ४ अर्ब, एचआईडीसीएलले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब, एभरेष्ट बैंकले १ अर्ब ५० करोडबराबर लगानी गर्नेछ। आयोजनाको निर्माणअवधि पाँच वर्षको छ।

आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो। विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र भने २०७६ पुस १६ गते प्राप्त गरेको थियो। आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गएको बैशाखमा हस्ताक्षर भएको थियो।

अर्धजलाशययुक्त आयोजनाको ग्रसहेड ७ सय ८९ मिटर छ। आयोजनाले ६ सय २३ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ। आयोजनामा कुल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेगरी डिजाइन तयार पारिएको छ। जगदुल्ला गाउँपालिका-१ को हुरिकोटमा बाँध निर्माण गरी ६.१ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ।


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend