मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार बढिरहेको सेयर बजार साताको पहिलो कारोबारमै लाग्यो ओरालो

आइतबार, वैशाख ७ २०८२
लगातार बढिरहेको सेयर बजार साताको पहिलो कारोबारमै लाग्यो ओरालो

गएको वर्ष समग्रमा राम्रो सुधार देखिएको सेयर बजारमा यो वर्षको तीन कारोबारले पनि सुखद् संकेत गरे पनि यो साता भने बजार पुन: ओरालो लागेको हो।

काठमाडौं- नयाँ वर्ष लागेसँगै लगातार बढिरहेको सेयर बजार पुन: घटेको छ। यो साताको पहिलो कारोबार दिन आइतबार बजार १६.६८ अंकले घटेर २७०६.४ बिन्दुमा ओर्लिएको छ। 

५३ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ८ अर्ब ४३ करोड ३५ लाख रूपैयाँको कारोबार भएको छ। आइतबार १ सय ९२ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्यमा घटबढ भएको छैन।

यो वर्षको पहिलो कारोबारमा बैशाख २ गते मंगलबार २७.१४ अंकले बढेर २६८९.२२ बिन्‍दुमा पुगेको सेयर बजार बुधबार ७.०१ अंकले बढेर २६९६.२३ बिन्दुमा पुगेको थियो। बिहीबार बजार २६.४९ अंकले बढेर २७२२.७३ बिन्दुमा पुग्दा १० अर्ब ७९ करोडको कारोबार भएको थियो।

गएको वर्ष समग्रमा राम्रो सुधार देखिएको सेयर बजारमा यो वर्षको तीन कारोबारले पनि सुखद् संकेत गरे पनि यो साता भने बजार पुन: ओरालो लागेको हो।

२०८० को अन्तिम दिन २००६ को बिन्दुमा रहेको बजार २०८१ को अन्तिम दिन गएको चैत ३१ गते आइतबार २६६२ बिन्दुमा पुगेको थियो। आइतबार ८.६२ अंकले बजार घटेको थियो। सोमबार बैशाख १ गते कारोबार बन्द थियो।

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएर ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। लगातार कारोबार रकममा कीर्तिमान बनाइरहेको बजारले २०७८ भदौ २ गतेको ३२०० को उच्च बिन्दु भने पार गर्न सकेन। त्यही नयाँ उचाइ पार गर्ने अपेक्षामा यो वर्ष लगानीकर्ता रहेका छन्। 


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend