बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नयाँ वर्षसँगै सेयर बजारमा लगातार हरियाली

बिहीबार , वैशाख ४ २०८२
नयाँ वर्षसँगै सेयर बजारमा लगातार हरियाली

गएको वर्ष समग्रमा राम्रो सुधार देखिएको सेयर बजारमा यो वर्षको तीन कारोबारले पनि सुखद् संकेत गरेको छ।

काठमाडौं- नयाँ वर्ष लागेसँगै सेयर बजारमा लगातार हरियाली देखिएको छ। २०८२ को पहिलो कारोबारमा मंगलबार उचाइ लिएको सेयर बजार बुधबार र बिहीबार पनि बढेको छ।

गएको वर्ष समग्रमा राम्रो सुधार देखिएको सेयर बजारमा यो वर्षको तीन कारोबारले पनि सुखद् संकेत गरेको छ। बिहीबार बजार २६.४९ अंकले बढेर बजार २७२२.७३ बिन्दुमा पुग्दा कारोबार पनि १० अर्ब ७९ करोड ७३ लाख रूपैयाँ भएको छ।

कारोबारमा देखिएको सुधारले बजारले उचाई लिने अनुमान गरिएको छ।

यो वर्षको पहिलो कारोबारमा बैशाख २ गते मंगलबार २७.१४ अंकले बढेर २६८९.२२ बिन्‍दुमा पुगेको सेयर बजार बुधबार ७.०१ अंकले बढेर २६९६.२३ बिन्दुमा पुगेको थियो। बुधबार ७ अर्ब २६ करोड ५१ लाख रूपैयाँको कारोबार भएको थियो।

२०८० को अन्तिम दिन २००६ को बिन्दुमा रहेको बजार २०८१ को अन्तिम दिन गएको चैत ३१ गते आइतबार २६६२ बिन्दुमा पुगेको थियो। आइतबार ८.६२ अंकले बजार घटेको थियो। सोमबार बैशाख १ गते कारोबार बन्द थियो।

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको सेयर बजारमा साउनभर उछाल देखिएर ३०००.८१ को बिन्दुसम्म पुगेको थियो।

लगातार कारोबार रकममा कीर्तिमान बनाइरहेको बजारले २०७८ भदौ २ गतेको ३२०० को उच्च बिन्दु भने पार गर्न सकेन। त्यही नयाँ उचाइ पार गर्ने अपेक्षामा यो वर्ष लगानीकर्ता रहेका छन्। 


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend