शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

कोशी प्रदेशमा लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा, ५४ योजनामा १ खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता आउने विश्वास

images
बुधबार, वैशाख ३ २०८२
images
images
कोशी प्रदेशमा लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा, ५४ योजनामा १ खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता आउने विश्वास

सम्मेलनले प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सृजना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्ने विश्वास गरिएको छ।

images
images

मोरङ- कोशी प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। लगानी सम्मेलन यही बैशाख १८ र १९ गते विराटनगरमा हुनेछ।

images
images
images

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा हुने लगानी सम्मेलनमा पर्यटन, उद्योग, सूचना प्रविधि, कृषि, जलविद्युत्, पूर्वाधार निर्माणलगायत आठ क्षेत्रका ५४ योजनामा स्वदेशी, निजी क्षेत्र, गैरआवासीय नेपाली एवं प्रत्यक्ष वैदेशिक लगानीका एक खर्ब ३९ अर्ब ३० करोड ५२ लाख रूपैयाँ विभिन्न परियोजनामा प्रतिबद्धता आउने विश्वास गरिएको छ।

images
images

सम्मेलनले प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सृजना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्ने विश्वास गरिएको छ। सम्मेलनबाट कोशी प्रदेश प्रमुख लगानीको गन्तव्यस्थलका रूपमा परिचित र स्थापित हुने अपेक्षा गरिनुका साथै प्रदेशको दोस्रो आवधिक योजनाले आर्थिक विकासमा लिएका लक्ष्य पूरा गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोच हासिल गर्न प्रत्यक्ष रूपमा सहयोग पुग्नेछ।

images
images
images

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनले प्रदेशको औद्योगीकीकरण र रोजगारी सृजनामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए। उनले प्रदेशमा पुँजी निर्माणका लागि सम्मेलन आयोजना गरेको हो भन्दै यसमा निजी क्षेत्र, गैरआवासीय नेपाली र वैदेशिक लगानी भित्र्याउनु मुख्य उद्देश्य रहेको उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले प्रदेशमा औद्योगीकरणका लागि आवश्यक जग्गा लिजमा दिन, विद्युत् महसुल अनुदान दिने आवश्यक कानून निर्माण गरी कोषको स्थापना गर्ने जानकारी दिए। उनले विगतको अनुभवका आधारमा भोलि कार्यान्वयनमा जाने योजनामा सम्झौता गरिने जानकारी दिँदै प्रदेशमा उद्योग स्थापनाका लागि एकद्वार प्रणालीमार्फत सहजताका लागि आवश्यक कानून निर्माण र संशोधन गरिने बताए।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले लगानीकर्ताहरूलाई सहज वातावरण सिर्जना गर्न प्रदेश सरकार अध्यादेशमार्फत कानून संशोधन गरी नीतिगत व्यवस्था गर्ने धारणा राखे।

लगानी सम्मेलनका संयोजक एवं प्रदेशका सचिव पवनकुमार तिम्लिसिना र  प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइरालाले प्रदेशमा सार्वजनिक, निजी र साझेदारी अन्तर्गतका परियोजनालाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानून, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गरिने बताए।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले सम्मेलनलमा यस क्षेत्रमा उद्यौगिक वातावरण कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै प्रदेश सरकार यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गरेमा ठूला-ठूला उद्योग स्थापन गर्न थप लगानी भित्रिने विश्वास जनाए। 

सो अवसरमा अनन्त न्यौपाने, वेदराज पौडेल, अर्जुन आचार्य, मीनकुमार नवोदित श्रेष्ठलगायत सञ्चारकर्मीहरूले सम्मेलनका सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए। रासस


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend