काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले यही बैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीन, भारत, पाकिस्तान र बंगलादेशका व्यवसायीहरुबाट स्टल बुकिङ भएको छ।
मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापानलगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिएकोमा हालसम्म चीन, भारत, पाकिस्तान, बंगलादेशका व्यवसायीहरुबाट स्टल बुकिङ भएको हो। वस्तुगत संघका स्टलहरु समेत बुकिङ भइसकेका छन्।
महासंघले २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरेको थियो। मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहने छ। मेलामा कुल ३ सयभन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरु, साथै चारपांग्रे र दुईपांग्रे विद्युतीय गाडीहरु समेत राखिने छ। मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ।
मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्णसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन्। मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुनेछ।
महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरु जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ। विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई अन्तर्राष्ट्रिय व्यापार मेलामा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने विश्वास महासंघले लिएको छ।
मेलामा जेष्ठ नागरिक तथा फरक क्षमताका नागरिकहरुलाई निःशुल्क र विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ।
महासंघले प्रत्येक वर्ष नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ, यो २०२५ दशौँ संस्करण हो। यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा छ।