मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नागढुंगा र वैकल्पिक सहायक राजमार्गको बजेट काटेर सांसदहरूको निर्वाचन क्षेत्र रणनीतिक सडकतर्फ रकमान्तर

मंगलबार, वैशाख २ २०८२
नागढुंगा र वैकल्पिक सहायक राजमार्गको बजेट काटेर सांसदहरूको निर्वाचन क्षेत्र रणनीतिक सडकतर्फ रकमान्तर

चालु आर्थिक वर्षको फागुन मसान्तमा अर्थ मन्त्रालयले करिब ५० करोड रुपैयाँ बराबरको आयोजनाहरूमा बजेट कटौती गरेर निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनामा रकमान्तर गर्न अनुमति दिएको हो।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका महत्वपूर्ण आयोजनाहरूबाट बजेट काटेर सांसदहरूको निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनातर्फ रकमान्तर गरिएको छ। 

चालु आर्थिक वर्षको फागुन मसान्तमा अर्थ मन्त्रालयले करिब ५० करोड रुपैयाँ बराबरको आयोजनाहरूमा बजेट कटौती गरेर निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनामा रकमान्तर गर्न अनुमति दिएको हो। 

अर्थले बजेट निकासा नदिएकाले विकास निर्माण सुस्त भइरहेको समयमा बजेटको व्यापकरुपमा दुरुपयोग हुनेगरी रणनीतिक सडकतर्फ रकमान्तर दिएको हो। 

नागढुंगा सुरुङ निर्माण आयोजना, तमोर करिडोर, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम र राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रमका लागि विनियोजन भएको बजेट सांसदहरुको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा अर्थ मन्त्रालयले रकमान्तर दिएको हो।

२०७७ चैत २१ मा तत्कालीन समयमा पनि प्रधानमन्त्री रहेका केपी ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडकको उद्घाटन गरेका थिए । त्यसबेला संघीय संसद्को प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो। जसमा योजनाअनुसार काम हुन सकेको छैन। 

अर्कोतर्फ वैकल्पिक सहायक राजमार्गबाट रकमान्तर दिएर पुन: उक्त शीर्षकमा स्थानीय तहका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजना र तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रममा रकमान्तर गरिएको छ। 

चालु आर्थिक वर्षको फागुन महिनामा ५५ बजेट शीर्षकअन्तर्गत  ३ अर्ब २८ करोड ९० लाख रुपैयाँ विभिन्न आयोजनामा रकमान्तर गरिएको छ। यस्तै अर्थ मन्त्रालयले २ अर्ब ३८ करोड ७० लाख रुपैयाँ बराबरको ४६ बजेट शिर्षक थप निकासा गरेको छ। 


प्रकाशित : मंगलबार, वैशाख २ २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend