मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

९ महिनामा आन्तरिक राजस्व १०.३१ प्रतिशतले वृद्धि

भ्याट ११.१३ प्रतिशत र अन्त:शुल्क १९.१९ प्रतिशतले बढ्यो

मंगलबार, वैशाख २ २०८२
९ महिनामा आन्तरिक राजस्व १०.३१ प्रतिशतले वृद्धि

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिना (चैत मसान्तसम्म) मा सरकारको आन्तरिक राजस्व संकलन १०.३१ प्रतिशतले बढेको छ। यस अवधिमा सरकारले ४ खर्ब १२ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ। गत वर्षको यसै अवधिमा सरकारले ३ खर्ब ७४ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो। 

चैत महिनामा मात्रै आन्तरिक राजस्व विभागले ६५ अर्ब ८० करोड रुपैयाँ कर उठाएको छ। गत वर्षको यसै अवधिमा ५५ अर्ब आन्तरिक राजस्व असुली भएको थियो। चैतमा गतवर्षको सोही अवधिको तुलनामा १३.९२ प्रतिशतले राजस्व बढेको छ। 

क्षेत्रगतरुपमा हेर्दा यस वर्षको ९ महिनामा आयकर ०.६५ प्रतिशतले बढेको छ। चैत मसान्तसम्ममा आयकर २ खर्ब १० अर्ब रुपैयाँ संकलन भएको छ। गत वर्षको यसै अवधिसम्ममा आयकर २ खर्ब ९ अर्ब रुपैयाँ उठेको थियो। 

यस्तै चैत मसान्तसम्ममा मूल्य अभिवृद्धि कर (भ्याट) ११.१३ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब रुपैयाँ कर संकलन भएको छ। गत वर्षको यसै अवधिसम्ममा भ्याट १ खर्ब १८ अर्ब रुपैयाँ संकलन भएको थियो। 

यस अवधिमा उत्पादनतर्फ १७.९० प्रतिशत, बिक्री वितरणतर्फ ०.२१ प्रतिशत, निर्माणतर्फ ११.४५ प्रतिशत, पर्यटनतर्फ ६.१ प्रतिशत प्रतिशतले बढ्दा रिजर्भ चार्जतर्फको भ्याट भने ११.७८ प्रतिशतले घटेको छ। 

चालु आर्थिक ९ महिनामा आन्तरिक उत्पादन, मदिरा तथा सुर्तीजन्य पदार्थसहितको अन्त:शुल्क १९.१९ प्रतिशतले बढेको छ। यस अवधिमा अन्त:शुल्क ८६ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको छ। गत वर्षको यसै अवधिमा यस्तो राजस्व ७२ अर्ब ४२ करोड रुपैयाँमात्रै संकलन भएको थियो।

यस अवधिमा स्वास्थ्य सेवातर्फको कर ५ अर्ब ११ करोड रुपैयाँ र शिक्षातर्फ २ अर्ब ६५ करोड रुपैयाँ असुली भएको छ।

यस्तै डिजिटल सर्भिस ट्याक्स, लक्जरियस ट्याक्स, वैदेशिक भ्रमण ट्याक्स, नेपाल टेलिकम सर्भिस, टेलिफोन फी र प्रदूषण करमा आन्तरिक राजस्व विभागले थप ८ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। 


प्रकाशित : मंगलबार, वैशाख २ २०८२१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend