अरु व्यवसायजस्तो बैंकिङ संस्थाहरू नाफामात्रै आर्जन गर्ने व्यवसाय होइनन्। विश्वभर बैकिङका नयाँ-नयाँ अवधारणा लागु छन्। बैंकिङले नाफामात्रै नभएर सामाजिक उत्तरदायित्व, उद्यमशीलता वृद्धि, वित्तीय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र पर्यावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भन्न थालिएको छ।
खासगरी उद्यमशीलताको विकास र प्रवर्द्धनमा बैंकहरूले महत्वपूर्ण भूमिका खेल्छन् नै। त्यसले गर्दा अन्यन्त्र बैंकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ। खासगरी अमेरिका, चाइनाजस्ता व्यपारको जगमा सम्पन्न भएका देशहरूमा बैंकहरूको ब्याजदर अत्यन्त न्यून छन्।
नेपालमा केही समय अघिसम्म दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी-व्यवसायीले उन्मुक्ति पाएका थिएनन्। त्यसैले पनि बैंकहरूलाई व्यवसायीहरूले आधुनिक शुदखोरझैँ ठाने। जति सफाचट र प्रणालीमा चलेको भएपनि समाजमा बैंकहरूको पछिल्लो समय धेरै नै आलोचना भएको हो।
विगतमा जे-जस्ता महामारी आएपनि बैंकहरूको नाफा वृद्धि भएकै हो। तर उद्योगी व्यवसायीहरू भने मारमा परिरहे। हालै केही वर्ष चलेको कोरोनाको माहामारीको असर अहिले पनि उद्योग व्यवसायमा परिरहेको छ। एकातिर चर्को ब्याजदर र अर्कोतिर कोरोनालगायतका महामारी, आर्थिक असन्तुलन र मन्दी, युवा जनशक्तिको पलायनसँगै उपभोक्ता मागमा आएको कमीले उद्योगी व्यवसायी मारमा परे। साना तथा लघुउद्यम व्यवसाय भयंकर मारमा परे। युवा पलायन बढ्यो। उद्यमशीलता र उद्यम सपना भित्रभित्रै मर्यो।
अहिले पनि अर्थतन्त्र सुस्त हिसाबको मन्दीमै छ। आन्तरिक आर्थिक गतिविधिहरू कमजोर भएकैले अर्थतन्त्र सुधार आयोग नै बनाएर अनेकन प्रयास थालेको छ। अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्र र उद्यमशीलताको अवस्था कमजोर छ। तरपनि बैंकहरूको मुनाफा भने बढेकै देखिन्छ।
जस्तो चालु आर्थिक वर्ष २०८१-८२ को ८ महिनामा वाणिज्य बैंकहरूले ४३ अर्ब रुपैयाँभन्दा बढी नाफा गरेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले २०८१ फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
नबिल, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यसबीच क्रमश: ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, ४ अर्ब ७२ करोड ९४ लाख र ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन्। अरु वाणिज्य बैंकहरूले पनि राम्रै नाफा आर्जन गरेको देखिन्छ। यसरी बैंकहरूको मुनाफा मन्दी होस् वा कोरोना माहामारी वा जस्तै विपतद्मा पनि बढेकै देखिन्छ। तर उद्यमशीलता, आर्थिक वृद्धि र आन्तरिक आर्थिक गतिविधि, उद्योगधन्दा भने बढेको छैन। बरु कमजोर हुँदै गएको छ। यसले व्यवसायिक वातावरणमा राम्रो रहेको देखाउँदैन। जसले सामाजिक उद्यमशीलता, रोजगारी वृद्धिमा नकारात्मक प्रभाव पारेको छ।
हिजोआज मानिसहरू कुन व्यवसाय गर्ने, के गर्ने भन्ने सम्बन्धमा एकचोटी सोच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटी सोच्न थालेका छन्। वास्तवमा यसले दीर्घकालीन रुपमा बैंकहरूलाई बेफाइदा गर्ने हो।
बैंकहरूले व्यवसायको दायरा पो बढाउनु पर्ने हो। तर बढी नाफा आर्जन गर्ने मात्रैको सोच स्थापित हुँदैछ। उनीहरूको नाफामात्रैको प्रतिस्पर्धामा उत्रिएर विगतमा घरजग्गा लगायत क्षेत्रमा धेरै नै लगानी केन्द्रित गर्दा खराब कर्जाको दर कहालीलोग्दो रुपमा बढेको छ।
अहिले वाणिज्य बैंकहरूको औषत खराब कर्जाको दर ५ प्रतिशत नाघ्न थालेको छ। वास्तवमा बैंकहरू अल्पकालीन नाफामा केन्द्रित रहँदा आर्थिक वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता वृद्धिमा बैंकहरूको ध्यान जान सकेको छैन।
उद्यमशीलता
नीजि क्षेत्रका कलेज तथा बैंक-वित्तीय संस्थाले उद्यमशीलता अभिवृद्धि गर्न सशक्त भूमिका खेल्न सक्छन्। तर त्यसको प्रभावकारी पहल उनीहरूले गरेका देखिँदैन।
राज्यले उमशीलतालाई प्रोत्साहन गरेको पनि छैन। राजनीतिक दलहरू उद्यमी व्यवसायीहरूलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोत साधनमात्रै ठानेका हुन्छन्। समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरूमा कहिँकतै देखिँदैन।
उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ। त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर। उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इच्छा हुँदैनथ्यो भने उसले कसरी व्यवसाय विस्तार गर्ला? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो। उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कदाचित हुँदैन। एउटा उद्यमीले पैसामात्रै कमाइरहेको हुँदैन। उसले धेरैलाई रोजगारी पनि दिएको हुन्छ। बैकहरूसँग ऋण लिएर उनीहरूको आम्दानी वृद्धिमा सघाएको हुन्छ।
आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ। राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ। नयाँ-नयाँ उद्योग, कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, समृद्ध र विकसित बनाउन उद्यमीले सघाएका हुन्छन्। अनि हामी तिनै उद्यमीहरू जो मौरीजस्तो खटिरहेका हुन्छन् तिनैलाई लखेट्छौँ भने देश कसरी उभो लाग्छ? त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना हुन्। उनीहरूहरूलाई राज्यले, समाजले, वित्तीय संस्थाहरूले सबैले सम्मान गर्नुपर्छ, उनीहरूलाई सहयोग गर्नुपर्छ।
उद्यमशीलता वृद्धिमा बैंकको भूमिका
धेरैजसो उद्यमीहरूलाई आफ्नै स्रोतमार्फत पुँजी पुर्याउन गाह्रो हुन्छ। किनकि उनीहरूलाई वित्तीय ज्ञान र व्यवस्थापनको अभाव पनि हुनसक्छ। त्यसकारण पुँजीबिना अर्थात ऋणबिना उद्यमीहरूलाई कोष जुटाउन गाह्रो हुन्छ। उनीहरूको प्राथमिक स्रोत नै बैंकहरूबाट प्राप्त गर्ने ऋण नै हो।
जस्तो ऋण प्रवाह गर्नुबाहेक पनि बैंकहरूले विभिन्न तवरले उद्यमीहरूलाई सघाइरहेका हुन्छन्। जस्तो बैंकहरू पैसा र सम्पत्ति सुरक्षित राख्छन्। उनीहरूले उद्यमीका बहुमूल्य सम्पत्ति र पैसा सुरक्षित राखेर सहयोग गर्छन्। त्यसैगरी ग्राहकसँगको व्यावसायिक कारोबार सहज बनाउन बैंकहरूले भुक्तानी प्रणालीलाई सहज बनाइदिएका हुन्छन्। फलस्वरुप उद्यमीहरूलाई कारोबारमा सहयोग पुग्दछ। त्यसैगरी बैंकहरू नै उद्यमीहरूका उत्कृष्ट सल्लाहकार पनि हुने गर्छन्।
बैंकहरूले उद्यमीहरूलाई कर, कम्पनी तथा लगानीसम्बन्धी उचित सल्लाह पनि दिन्छन्। जस्तो कि अहिले नेपालमा धेरै बैंक तथा वित्तीय संस्थाहरू छन्। उनीहरूले पुँजीको बागडोर सम्हालेर बसिरहेका छन्। उद्यमी व्यवसायी र उनीहरूको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ।
बैंकहरूको अहिलेको व्यवसायको आकार बढाउन पनि उद्यमी व्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि गरेर अघि बढ्न पनि बैंकहरू नै चाहिन्छन्। त्यसकारण मूलत: बैंकहरूले अब आफ्नै व्यवसाय बढाउने दीर्घकालीन सोच राखरे पनि उद्यमीहरू कसरी बढाउने भन्नेबारे कार्यक्रमहरू अघि ल्याउन सक्नुपर्छ। केही हदसम्म राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनएमबि बैंकहरूले उद्यमशीलता अभिवृद्धिको लागि पहल सुरु गरेको देखिन्छ।
नबिल बैंकले त दिगो बैकिङको नारा नै अघि सारेको छ। उसले त्यसै नाराअन्तर्गत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुनेगरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघि सारेको छ। भलै नबिलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नविनतम सुरुवात हो। सबै बैंकहरूले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रुपमा गर्न जरुरी देखिन्छ।
खाली व्यवसायिक युनिटहरूको विस्तार गर्ने, भाँडो थाप्नेमात्रै होइन, भाँडो भरिदिने 'विङ्स'को सिर्जना गर्दै लैजानुपर्छ। बैंक वित्तीय संस्थाहरूको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो। बैक-वित्तीय संस्था, इन्स्योरेन्स, कलेज आदिले खाली मुद्राको व्यापार र विनिमयमात्रै गरेर हुँदैन। आधुनिक समयमा नवीनतम हिसाबले पनि सोच्न जरुरी छ।
(गौतम आर्थिक विषयका लेखक तथा विश्लेषक हुन्)