शनिबार, असोज ५ गते २०८१    
images
images

लगातारको वर्षाले इँटा उद्योगमा अर्बौंको क्षति

images
शनिबार, माघ २२ २०७८
images
images
लगातारको वर्षाले इँटा उद्योगमा अर्बौंको क्षति

बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस  प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ।

images
images

धनुषा- बिहीबारदेखि लगातारको वर्षाका कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ। तीन दिनदेखि लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको हो।

images
images
images

तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन्। अहिले इँटा तयार पार्ने याम भएकाले सबै इँटा उद्योगहरुमा काँचो इँटा नै तयारी भइरहेको बेला बर्सातले अर्बौं रुपैयाँ मूल्य बराबरका इँटाको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन्।

उद्योग सञ्चालकहरूका अनुसार एउटा इँटा उद्योगमा कम्तीमा २५ देखि ३० लाख रुपैयाँ मूल्य बराबरका काँचो इँटा वर्षाका कारण नष्ट भएका छन्। इँटा उद्योग व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष विनय यादवले वर्षाका कारण इँटा उद्योगहरुमा अहिले भएको क्षतिको कारण तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको बताए।

उनले वर्षाले उद्योगीहरु उठ्नै नसक्ने गरी क्षति पुगेको बताउँदै तत्काल उद्योग सञ्चालन गर्ने अवस्था नरहेको बताएका छन्। अध्यक्ष यादवकाअनुसार मधेस प्रदेशका सबै जिल्ला गरी  ६ सय इँटा उद्योग सञ्चालनमा छन्। एउटा उद्योगले कम्तीमा ३० देखि ५० लाख काँचो इँटा तयार पारेका थिए।

images

इँटाभट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासि भएको लगातारको वर्षाले कामै नलाग्ने गरि सबै काँचो इँटा नष्ट भइसकेको छ। एक-दुई महिना लगाएर तयार पारिएको इँटा पुस-माघमा भट्टीमा पोल्ने गरिन्छ।

काँचो इँटा तयार पार्न उद्योगले सयौँको संख्यामा मजदुर राख्ने गरेका हुन्छन् भने माटो र कोइलासमेत खरिद गरिएको हुन्छ। वर्षाले गर्दा तयार पारिएका काँचो इँटाका साथै भारतबाट खरिद गरेर ल्याइएका कोइला पनि नष्ट भएको अध्यक्ष यादवले बताए।

उनले उद्योग सञ्चालनका लागि फेरि सुरुकै अवस्थामा फर्कनुपर्ने बताउँदै सञ्चालकहरू दोहोरो खर्चको ठूलो मारमा पर्ने बताए। मधेस प्रदेशको धनुषामा मात्रै ८० इँटा उद्योग छन्। यस वर्षाले सबै उद्योगमा क्षति पुगेर बन्द हुने अवस्थामा पुगेको छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाबजार नयाँटोलमा सञ्चालित रामजानकी इँटा उद्योगका सञ्चालक अरुण साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको बताए। उनले तयारी गरेर पोल्नका लागि राखेको सबै काँचो इँटा नष्ट भई एउटा पनि काम नलाग्ने अवस्था रहेको बताए।

इँटा उद्योगका सञ्चालकहरूले कोइला भारतबाट आयात गर्ने गरेका छन्। अघिल्लो वर्षको तुलनामा कोइलामा भएको दोब्बर मूल्यवृद्धिका कारण उनीहरू थप मारमा परेको सञ्चालकहरुले बताए। महोत्तरीको औरही नगरपालिकामा सञ्चालित न्यू मिथिला इँटाभट्टा उद्योगका सञ्चालक रामबाबु चौधरीले इँटा तयार पार्न फेरि सुरुदेखि काम गर्नुपर्ने अवस्था आएको बताए।

इँटा उद्योग व्यवसायी संघ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीले वर्षाका कारण स्टक गरेर राखिएको सबै कोइला पनि नष्ट भयो बताए। फेरि दोहोरो खर्च गरेर भारतबाट मगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। महोत्तरीमा मात्रै २० करोड रुपैयाँ मूल्य बराबरको इँटा उद्योगमा क्षति पुगेको उनले बताए।

उनका अनुसार महोत्तरी जिल्लाभरि ५२ वटा इँटा उद्योग रहेकामा औरही, रामगोपालपुर र गौशला नगरपालिकामै ३६ वटा रहेको र प्रत्येक इँटा उद्योगमा करिब २० देखि ३० लाख रुपैयाँसम्मको क्षति भएको बताए।

सरकारले अन्य उद्योगहरूका लागि बीमाको व्यवस्था गरे पनि इँटा उद्योगमा बीमाको व्यवस्था छैन। खुला आकाशमुनि निर्माण हुने इँटा उद्योगहरूलाई सरकारले बीमाको व्यवस्था नगरेको हो। दैवीप्रकोप वा कुनै दुर्घटना हुँदा बीमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित छन्। उद्योग सञ्चालकहरूले बीमाको व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन गरेको छैन।

इँटा उद्योग व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष विनय यादवले सरकारले बीमाको व्यवस्था नगरेका कारण प्रकृतिक विपत्ति आउँदा सम्पूर्ण क्षति उद्योगले आफैँ बेहोर्नु परिरहेको बताए।

उनले अन्य उद्योगजस्तै इँटा उद्योगलाई पनि बीमाको व्यवस्था गर्न सरकारसँग पुनः माग गरे। उनले बीमाको व्यवस्था गर्न पछिल्लो ५/६ वर्षदेखि सरकारलाई भनिरहेका छौँ तर सरकारले सुनुवाइ नगरेको उनको भनाइ छ। बीमा नहुँदा पटकपटक आइरहने प्रकृतिक विपत्तिले सम्पूर्ण क्षति हामी आफैँले बेहोर्नु परेको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, माघ २२ २०७८१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend