काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि निजी क्षेत्र आत्मविश्वासका साथ कम्मर कसेर लागेकोमा धन्यबाद दिँदै वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ काे अवसरमा बाेल्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रकाे संरक्षण र आर्थिक समृद्धिमा सहयाेग खोजिएकोमा सरकारले साथ दिने बताए। आत्मविश्वास बढाउन र सरकारलाई पनि सँगसँगै हिँड्न बाध्य बनाउन उनी निजी क्षेत्रलाई आग्रह गरे।
अस्थिरताकाे अन्त्य र आर्थिक समृद्धि नै सरकारकाे मुख्य एजेन्डा रहेकोले यसमै सरकार लागिपरेको प्रधानमन्त्री ओलीले बताए। सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर हिँड्ने उनको भनाइ छ। 'अधिकारमात्रै प्रयाेग गर्न खाेज्ने, कर्तव्य पूरा गर्न नखाेज्नेका कारण केही समस्या भएपनि सबै भ्रमलाई चिरेर सरकार अर्थतन्त्र चलायमान गराउन लागिपरेकाे छ' उनले भने।
निजी क्षेत्रले दिएकाे सुझावअनुसार नै अध्यायदेश जारी गर्न पहल गरेकाे बताउँदै उनले याे सरकार अर्थतन्त्र अगाडि बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर जान तयार रहेको बताए। निजी क्षेत्रले निजी हिसाबले लगानी गरेपनि राष्ट्रकाे सम्पत्तिको रुपमा गणना हुने भएकाेले निजी क्षेत्रकाे उपलब्धि राष्ट्रकै भएकाेसमेत उनले बताए।
निजी क्षेत्रलाई महत्त्व दिएर नै बिहीबारको कार्यक्रममा प्रधानमन्त्रीसहित सात मन्त्री उपस्थित भएको प्रधानमन्त्री ओलीको भनाइ छ। उनले सरकारलाई सहि सुझाव दिन आन्दोलन गरिरहनु नपर्ने बताउँदै जनतालाई सहज र सरल रुपमा सेवा दिन तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए।
सोही अवसरमा बोल्दै परराष्टमन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताइन्।
उनले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नु पर्ने बताइन्। यसका लागि सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम रुपमा प्रयोग गरि विकासको गति तीव्र बनाउनुपर्ने उनको धारणा थियो।
यसैगरी सोही अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघ सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे बताए। उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताए।
अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरुको साझा धारणा बनाउनुपर्नेमा अध्यक्ष ढकालको जोड थियो। पछिल्लोपटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु पर्नेमा जोड दिए।
यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई साक्षीका रुपमा मात्र नभइ सहयात्रीको रुपमा हेर्नुपर्ने धारणा राखे। उनले आर्थिक सृमृद्धिका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको बताउँदै सरकारले गरेका नीतिगत सुधार सकारात्मक भएपनि कार्यान्वयनमा हुने ढिलासुस्तिले विश्वासमा संकट आउने गरेको बताए।