आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

२७ करोड लागतमा तयार भयो गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल

images
बिहीबार , चैत २८ २०८१
images
२७ करोड लागतमा तयार भयो गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल

पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए।

images
images

तनहुँ- गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका-१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन्।

images
images
images

पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए।

images
images

पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका-१ स्याउली बजार जोडेको छ। सिग्देलले भने, 'तनहुँतर्फको भाग पुलसँग जोडिएको छ। पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ।'

images
images

पुल निर्माणकोकाम युनाइटेड विल्डर्सले पाएको थियो। कुल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो। डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा २७ करोड रूपैयाँ लगानी भएको छ।

कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दुरीबाट यात्रा गर्न बाध्य थिए। पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पर्थ्यो। पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ। 

डेढ घण्टाको बाटो १५ मिनेटमा छोटियो

घिरिङ गाउँपालिका-२ र ३ जोड्ने चिन्नेखोलामा झोलुंगे पुल निर्माण भएपछि डेढ घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ। चिन्नखोलामा ९२ मिटर लामो झोलुंगे पुल बनेपछि यात्रा अवधि छोटिएको हो।

यहाँ पुल नहुँदा यस भेगका जनताले घुमाउरो बाटो हिँड्नुपर्नेमा पुल बनेपछि सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए। उनले भने, 'यहाँ पुल नहुँदा यस भेगका जनतालाई दुःख थियो, पुल बनेपछि सहज भयो।'

४५ लाख ६८ हजार १९२ रूपैयाँको लागतमा झोलुंगे पुल निर्माण गरिएको हो। पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो। उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले पाँच लाख ९५ हजार ९८५ रूपैयाँ लागत साझेदारी गरेको जानकारी दिए।

त्यस्तै स्थानीयवासीले ८९ हजार २४२ रूपैयाँ बराबरको श्रमदान गरेका थिए। संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रममार्फत ३८ लाख ६७ हजार ७७३ रूपैयाँ विनियोजन भएको थियो। 

पुल निर्माणका लागि उपभोक्ता समितिसँग २०८१ बैशाख १६ गते सम्झौता भएको थियो। विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्याद अगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताए। पुल निर्माणपश्चात ११८ घरपरिवारका ९५४ जना लाभान्वित भएका छन्। रासस


प्रकाशित : बिहीबार , चैत २८ २०८११३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend