मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

छपाइको टेन्डरमा ढिलासुस्तीकै कारण फेरि भेरिएसनबाट राहदानी लिनुपर्ने अवस्था आउँदै

बिहीबार , चैत २८ २०८१
छपाइको टेन्डरमा ढिलासुस्तीकै कारण फेरि भेरिएसनबाट राहदानी लिनुपर्ने अवस्था आउँदै

राहदानी विभागसँग भएको राहदानीले अब बढीमा ६ महिनालाई मात्रै पुग्छ। विभागले चैत महिनामै प्राविधिक काम सकेपनि राहदानी छपाइका लागि दुईपक्षीय सम्झौता गर्न अझै एक महिनाभन्दा बढीको समय लाग्छ।

काठमाडौं- ६४ लाख विद्युतीय राहदानी छपाइका लागि भइरहेको काममा राहदानी विभागको ढिलासुस्तीका कारण पुन:विद्युतीय राहदानी भेरिएसनबाट नै लिनुपर्ने अवस्था आउने भएको छ।

विभागका प्रवक्ता शत्रुध्वन पोखरेलका अनुसार विभागसँग अब स्टकमा ७ लाखको हाराहारीमा मात्रै राहदानी बाँकी छ। उनका अनुसार गएको मार्च अन्तिमसम्म विभागबाट ४३ लाख ७० हजार राहदानी वितरण भइसकेको छ।

विभागले अहिले राहदानी छपाइका लागि गरेको ग्लोबल टेन्डरमा सहभागी कम्पनीहरूको प्राविधिक पक्षमा मूल्यांकन गरिरहेको छ।

विभागका महानिर्देशक तिर्थराज अर्यालले केही दिनमै प्राविधिक रुपमा सफल कम्पनीहरूले राखेको आर्थिक प्रस्ताव खोल्ने निर्णय हुने बताए। उनकै भनाइलाई आधार मान्ने हो भने चैत महिनाभित्रै टेन्डरमा सहभागी कम्पनीहरूको प्राविधिक मूल्यांकनको काम सकिने छ।

कुनै पनि खरिदमा सबैभन्दा बढी समय लाग्ने काम प्राविधिक मूल्यांकन पनि पर्छ। प्राविधिक मूल्यांकनको काम सकिएपछि आर्थिक प्रस्ताव खोलिने र सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीसँग सम्झौता गर्ने अर्याल बताउँछन्।

पहिले ६४ लाख राहदानी छपाइका लागि कम्पनी छनोटका काम सकेरमात्रै स्टकमा रहेको राहदानी संख्याको हिसाकिताब हुने अर्यालले बताए। केही गरी कम्पनी छनोट भएर उसले काम थाल्ने समयसम्मका लागि राहदानी अपुग हुने अवस्थामा अहिले राहदानी छपाइको काम गरिरहेको फेन्च कम्पनीसँग भेरिएसनमा राहदानी लिइने उनको भनाइ छ।

राहदानी विभागसँग भएको राहदानीले अब बढीमा ६ महिनालाई मात्रै पुग्छ। विभागले चैत महिनामै प्राविधिक काम सकेपनि राहदानी छपाइका लागि दुईपक्षीय सम्झौता गर्न अझै एक महिनाभन्दा बढीको समय लाग्छ। सम्झौता हुनेबित्तिकै काम गर्न सक्ने अवस्था हुँदैन।

कम्पनी छनोट भएपछि पनि ८ महिनाभन्दा अगाडि राहदानी वितरणको काम सुरु गर्न उक्त कम्पनीले सक्दैन। किनभने २०७७ को कात्तिकमा विद्युतीय राहदानी छपाइका लागि छनोट भएको कम्पनीले २०७८ मंसिरबाट मात्रै चरणबद्ध रुपमा राहदानी वितरण थालेको थियो।

विगतमा १३ महिना लागेपनि अहिले त्यो समयमा ४ देखि ५ महिना कम लाग्ने विभागकै कर्मचारी बताउँछ्न्। तर अहिलेको स्टक राहदानीले नयाँ कम्पनी छनोट भएर छपाइ सुरु हुँदासम्मका लागि नपुग्ने विभाग स्रोत नै बताउँछ।

विभागले अहिले कम्पनी छनोटको कामलाई प्राथमिकतामा राखेको हुँदा भेरिएसनका लागि कुनै काम थालेको छैन। विभाग स्रोतका अनुसार न्यूनतम ८ देखि १० लाख राहदानी पुन: भेरिएसनबाट नै लिनु पर्ने अवस्था आउँछ।

विभागलाई राहदानी अहिले छपाइकै काम गरिरहेको कम्पनीबाट लिन पनि सहज भने छैन। २८ लाख राहदानी भेरिएसनमा लिँदा प्रविधि र पूर्वाधारको रकम नघटाइ लिएको भन्दै अख्तियारले छानबीन गरिरहेको छ।

विभागले ६४ लाख राहदानी छपाइको काम मंसिर १३ गते टेन्डर गर्दै सुरु गरेको थियो। साढे ४ महिना भइसक्दा प्राविधिक मूल्यांकनकै काम चलिरहेको छ। जसका कारण पनि विभागले फेरि केही राहदानी भेरिएसनबाट लिनु पर्ने अवस्था आउने छ।

विभागले २०७७ कात्तिकमा २० लाख राहदानी छपाइका लागि फ्रान्सेली कम्पनी 'आईडीईएमआईए' छनोट गरेको थियो। सम्झौताअनुसार २०७९ मै कम्पनीसँग १५ प्रतिशत अर्थात ३ लाख राहदानी भेरिएसनबाट लिएको थियो भने २०८० को असारमा थप २८ लाख राहदानी भेरिएसनबाट लिएको थियो। कुल ५२ लाख राहदानीमा ४४ ला राहदानी वितरण भइसकेको छ।

अहिले र ६४ लाख राहदानी छपाइका लागि गरेको ग्लोबल टेन्डरको 'प्याकेज १' अन्तर्गतका कामको लागि तीन र 'प्याकेज २' अन्तर्गतको कामका लागि चारवटा कम्पनीले आवेदन दिएका छन्। 

विभागले मंसिर १३ गते (२०२४ को नोभेम्बर २८) मा ६४ लाख राहदानी छपाइका लागि भन्दै प्याकेज १ र २ को टेन्डर गरेको थियो।

विभागले 'प्याकेज १' मा स्टिम इन्कुलिडिङ प्री-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजम्यानेट र डेलेभरी राखेको थियो भने 'प्याकेज २' मा बुकलेट विथ पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टम समावेश गरी टेन्डर गरेको थियो। 'प्याकेज १' अन्तर्गत आईटी इनरोलमेन्ट र 'प्याकेज २' अन्तर्गत बुकलेट रहेको थियो।

विभागले यसमा दुईपटकसम्म सयम थपेको थियो। टेन्डरको 'प्याकेज १' मा अहिले पनि राहदानी छपाइकै काम गरिरहेको फ्रान्सेली कम्पनी 'आईडीईएमआईए', जर्मन कम्पनी मुलबाउर र अमेरिकन कम्पनी आइरिस सफ्टवेयरको आवेदन परेको छ। यसको क्यानडा र भारतमा समेत कार्यालयका रहेका छन्।

यसैगरी 'प्याकेज २' अन्तर्गतको काममा लागि चारवटा कम्पनीले आवेदन दिएका छन्।  जसमा राहदानी छपाइकै काम गरिरहेको फ्रान्सेली कम्पनी आईडीईएमआईए, जर्मन कम्पनी भेरिडस, जर्मन कम्पनी मुलबाउर र पोल्याण्डको पीडब्लू पीडब्लूले  आवेदन दिएका छन्।

अब यी कम्पनीहरूको प्राविधिक मूल्यांकन हुने छ। प्राविधिक मूल्यांकनपछि आर्थिक प्रस्ताव खोलिने र कम कबुल गर्ने कम्पनीले छपाइको जिम्मा पाउने छ।

फ्रान्सेली कम्पनी आईडीईएमआईए र जर्मन कम्पनी मुलबाउरले भने विभागले गरेको टेन्डरको दुईवटै प्याकेजको काममा लागि आवेदन दिएका छन्। 


प्रकाशित : बिहीबार , चैत २८ २०८१०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend