काठमाडौं- लाभांश दिने अन्तिम तयारीमा रहेको नेपाल टेलिकमको सेयरमा लगानीकर्ता झुम्मिएका छन्। पछिल्लो एक महिनाको तथ्यांकलाई हेर्ने हो भने टेलिकमको सेयर लगानीकर्ताको आकर्षणमा परेको छ।
जनवरी ६ मा टेलिकमको सेयर प्रतिकित्ता १ हजार ३ सय ३१ रुपैयाँमा कारोबार रोकिएको थियो। तर फागुन २० गते अर्थात फेब्रुअरी ३ मा आइपुग्दा टेलिकमको सेयर प्रतिकित्ता एक १ हजार ५ सय ६० रूपैयाँमा कारोबार भएर रोकिएको छ। महिनाभरी नै सेयरलगानीकर्ता निराश हुन परेको छैन। महिना दिनमै प्रतिकित्ता २ सय २९ रुपैयाँले बढेका छ। अझै टेलिकमको सेयर उकालो लाग्ने यात्रा जारी रहने सेयर विश्लेषकहरूको तर्क छ।
बोनस सेयर दिएर चुक्ता पुँजी बढाउने दबाबमा रहेकोले यस वर्ष पनि नगद लाभांश मात्रै दिने तयारी टेलिकमको रहेको छ। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९९५ रुपैयाँ रहेको थियो। अधिकतम भने १५७० सम्म पुगेको थियो।
खासगरी नाफा राम्रो कमाएकाले लाभांश बढी दिने आशामा लगानीकर्ता केन्द्रित भएका छन्। गत वर्ष ४० प्रतिशत नगद लाभांश दिएको थियो। यसवर्ष पनि कम्पनीको क्षमता ४० देखि ५५ प्रतिशतसम्म लाभांश दिने देखिन्छ। तर लगानीकर्ताहरूले पछिल्लो समय नेपाल टेलिकमले बोनस सेयर दिने हल्ला गराएका छन्। गत वर्ष पनि बोनस सेयरको हल्ला चलाएर ७ सय रुपैयाँमा कारोबार भएको सेयर १२ सय पुर्याएका थिए। यस वर्ष पनि बोनस सेयरको हल्ला चलाइएको छ। तर १० वर्षको इतिहासमा हालसम्म नगद मात्रै लाभांश दिएको छ। कम्पनीको १५ करोड कित्ता सेयर रहेको छ। १५ अर्ब रुपैयाँ चुँक्ता पुँजी रहेको छ। कम्पनीको बजार पुँजीकरण २ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।
टेलिकमकोले तीन महिनामै २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो। जुन नाफा गत वर्षको सोही समयको भन्दा ४०.४७ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधीमा १ अर्ब ५१ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो। टेलिकमले आधिकांश सूचकमा वृद्धि गरेको छ। प्रतिसेयर आम्दानीसमेत बढाएको छ। गतवर्ष ४०.४७ रुपैयाँ रहेकोमा यसवर्षको पहिलो त्रैमासमा ६०.०७ रुपैयाँ पुगेको छ।
कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।