आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

फेरियो काभ्रे-डाँडापारिको मुहार, सडक र पानीलगायतका सेवासुविधाले सहज बन्दै जीवनयापन

images
बुधबार, चैत २७ २०८१
images
फेरियो काभ्रे-डाँडापारिको मुहार, सडक र  पानीलगायतका सेवासुविधाले सहज बन्दै जीवनयापन

सडकको पहुँचका कारण यहाँका बासिन्दाले उत्पादन गरेका खाद्यान्नलगायत कृषिजन्य वस्तुको बिक्री गर्न नजिकको सहर जान थालिएको छ भने आवश्यक घरायसी सम्पूर्ण लत्ताकपडा-सामग्री गाउँमै पाउन थालिएको छ।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र महाभारत पर्वत श्रङ्खलापारी (डाँडापारी)को क्षेत्र ‘समृद्धि’उन्मुखतातर्फ लम्किएको छ। उक्त क्षेत्रलाई केही वर्षदेखि ‘दुर्गम’ भन्नसमेत छाडिन थालेको छ। कारण सडक, विद्युत, खानेपानी, स्वास्थ्य संस्था र सुविधासम्पन्न विद्यालय भवनको व्यवस्था। उक्त क्षेत्रमा सडक बाहेकका विकास पनि सडकले नै सम्भव दिलाएको छ। 

images
images
images

‘डाँडापारी’मा दुई गाउँपालिका महाभारत र खानीखोला पर्दछन्। संघीय संरचना निर्माणअघि डाँडापारीमा दश गाउँ विकास समिति थिए। महाभारत गाउँपालिकामा नजिकको राजमार्गमार्फत सदरमुकाम जोड्ने पक्की सडक नै निर्माण भइसक्यो। उक्त गाउँपालिका विशेषगरी सडकको पहुँचले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल र मुख्य सहर बनेपा तथा पनौती डाँडापारीसँग नजिकिएका छन्।

images
images

सडकले सामग्री ढुवानीमा सहजता आएपछि अपुग खाद्यान्नलगायत नुन, तेल र मरमसला किन्न घण्टौँको बाटो हिँड्नुपर्ने बाध्यता हाल दूर भइसक्यो। यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि सहरसम्म जोडिएको छ।

images
images

सडकको पहुँचका कारण यहाँका बासिन्दाले उत्पादन गरेका खाद्यान्नलगायत कृषिजन्य वस्तुको बिक्री गर्न नजिकको सहर जान थालिएको छ भने आवश्यक घरायसी सम्पूर्ण लत्ताकपडा-सामग्री गाउँमै पाउन थालिएको छ।

विशेषतः सडक सुगमताले जिल्लाको विकट क्षेत्र मानिएको डाँडापारीका दुई गाउँपालिका महाभारत र खानीखोलाको मुहार फेरिदै गयो, यहाँका नागरिक दशकअघिको दु:ख-पीडा-बाध्यता सम्झँदै हाल विकसित क्षेत्रको सुविधा उपभोग गरिरहेका पाइन्छन्।

पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानी’सहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकको मुहार फेरिएको हो। यसो हुनुमा स्थानीय तहको भूमिकालाई पनि विशेष मान्ने गरिएको छ। यहाँका गाउँपालिकाको बस्तीमा विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक निर्माणलाई प्रमुख मानिएको हो। 

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा स्थानीय नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी दोस्रो चरणको पक्की सडकखण्ड निर्माण अन्तिम चरणमा पुगको बताउँछन्। उनका अनुसार हाल बीपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली-चारकिल्ला-देवीटार-घर्तिछाप-गोकुले-भोर्लेनी सडक (जनमुक्ति मार्ग)को निर्माणमा लागिएको छ भने तीनखुट्टे-भूमिचुली-राजबास खण्डको १७ किमि सडकका लागि करिब ९८ करोड रूपैयाँ विनियोजन भएकामा ६० करोड ९७ लाख रूपैयाँमा आगामी २०८२ साल कात्तिकमा सम्पन्न गर्नेगरी सम्झौता भइ निर्माणाधीन चरणमा छ।

यस्तै ‘एक घर एक खानेपानी धारा’ अभियानअन्तर्गत सबै नागरिकका घरघरमा खानेपानी पुर्‍याउने कार्य निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ। नागरिकको आर्थिक विकासको लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत तीन वर्षदेखि चालु आर्थिक वर्षसम्मा डेढ लाख कफीको बिरुवा रोपिएको अध्यक्ष जिम्बाले बताए। पक्की सडक सञ्जालसँग जोड्ने क्रममा रहेको डाँडापारीको क्षेत्रमा हाल पनि गर्भवती र सुत्केरीका बेलामा महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत स्थानीय तहको समन्वयमा हेलिकप्टरबाट उद्धार गर्ने कार्य गर्दै आइएको छ।

महाभारत गाउँपालिकामा मात्र हाल दुई अर्ब रूपैयाँका सडक योजना सञ्चालनमा छन्। सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ। महाभारतको भुमेचुली-बुढाखानी-तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रे भइरहेको, तिनखुट्टे-देवीटार आठ किलोमिटर सडकखण्ड स्तरोन्नति भइरहेको तथा देवीटार-गोकुले करिब सात किलोमिटर सडकखण्ड निर्माणको चरणमा रहेको छ। तर, निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमितकार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्वाले बताउँछन्। 'निर्माणका क्षेत्रमा हामीले ताकेता गरिरहेका छौँ', उनले भने। 

त्यसो त, विकट क्षेत्रमा सूचीकृत खोनीखोला गाउँपालिका-५ स्थित तालढुंगा लाई बागमती प्रदेशको नमूना सहर बनाउन थालिएको छ। यसका लागि पहिलो चरणमा बजार क्षेत्र र वरपरिको सडकलाई पक्की बनाउन थालिएको जनाइएको छ।

हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको उक्त बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरको रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत दुई करोड रूपैयाँ विनियोजन गरिएको थियो। उक्त बजेटबाट कार्यालयमाफैत नै वोलपत्र आह्वान गरी सहर भित्रको सडक/बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकता अनुसार ड्रेनवाल निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले तालढुंगालाई नमूना सहर बनाउने उद्देश्यस्वरुप ‘ल्याण्ड पुलिङ’को काम गरिररहेको बताए। उनका अनुसार तालढुंगा लाई कुन मोडलमा सहरीकरणमा लैजाने विषयमा थप छलफलसमेत भइरहेको छ। तालढुंगा  नमूना सहर निर्माण भएसँगै खानीखोलाका साथै दुर्गम महाभारत गाउँपालिकालाई समेत सहज हुने थिङले बताए। 

सहरी विकास तथा भवन कार्यालयले बागमती प्रदेश सरकारले गाउँपालिकाबाट अन्य स्थानमा हुने बसाँसराइ रोक्ने तथा गाउँपालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ तालढुंगा लाई नमूना उदयीमान सहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाएको छ। गाउँपालिकाकाले तयार गरेको विस्तृत परियोजना रिपोर्ट (डीपीआर)मा स्थानीय जनप्रतिनिधि, सहरी विकास योजनाविद् तथा स्थानीय नागरिकसँग छलफल गरी काम अघि बढाइएको हो। 

बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणधीन अवस्थामा रहेको जनमुक्ति मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुंगा सहर जोडिएको छ। बागमती नदीमा पुल निर्माण कार्य सकेपछि प्रदेश राजधानी मकवानपुरको हेटौँडा तालढुंगाबाट दुई घण्टामा पुग्न सकिन्छ। तालढुंगामा सडक, ढल, बस्ती विकास, पार्कहरु निर्माणलगायतका काम गर्नसके पर्यटकको आकर्षण बढ्नसक्ने अपेक्षा गरिएको छ। 'तालढुंगालाई प्रदेशको एउटा सानो, सुन्दर र आकर्षक सहर बनाउनेछौँ', थिङले भने। 

खानीखोलासम्म सहज मोटरबाटो नभएका कारण यहाँका नागरिकमा अहिले पनि विकास भनेको सडकमात्रै हो भन्ने धारणा छ। यद्यपि, गाउँपालिकाले पनि सबै मौसममा सबै वडाको केन्द्रसम्म मोटर चल्ने सडक निर्माणको योजना बनाएको छ। थिङका अनुसार गाउँपालिकाको मेरुदण्ड सडकको रुपमा स्थापित गराइ बागमती प्रदेश राजधानीको बजार दुई घण्टाको बाटो बनाउने, जिल्ला सदरमुकाम धुलिखेलबीचको सम्बन्ध सुमधुरको योजना बनाइएको छ। निर्माणको प्रक्रियामा रहेको जनमुक्ति मार्गमार्फत हेटौँडा जोड्ने, खोपासी तालढुंगा सडकलाई कालोपत्रे गर्ने लक्ष्य लिइएको जनाइयो। 

त्यस्तै गाउँपालिकाले सडकतर्फ ढुङ्खर्क-च्याम्राङबेशी-मिल्चे-तालढुंगालाई व्यवस्थित गर्ने खोपासी- कामीडाँडा, स्यारेथली, फलाँटे हुँदै तालढुंगा पुग्ने सडकलाई सबै मौसममा चल्ने सडक बनाइने, कालोपत्रे र आवश्यकताअनुसार ढलान गर्ने, च्याल्टी फलामेटार तालढुंगा सडकलाई पनि बाह्रै महिना सञ्चालन गर्ने योजना बनाएको बनायो। शिक्षातर्फ भने शैक्षिक सुधार गर्ने उद्देश्यले प्रारम्भिक बाल कक्षादेखि दश कक्षासम्मका विद्यार्थीलाई तीन समूहमा वर्गीकरण गरेर सानो कक्षालाई ‘डिजिटाइजेशन’ गर्ने तथा कक्षा ६ देखि ८ सम्मलाई थप कक्षा सञ्चालन गरी नौ र दशका विद्यार्थीलाई क्लोज क्याम्पमा राखेर अध्यापन गराउने योजना बनाइएको छ भने जेष्ठ नागरिकको मासिक घुम्ती स्वास्थ्य परीक्षणको काम अघि बढाइएको छ।

गाउँपालिकाभित्रको अर्को समस्या १४/१५ वर्षको उमेरमा विवाह गर्ने परम्परालाईे बाल विवाह अन्त्य गर्न आम नागरिकमा जनचेतना जगाउने अभियान पटकपटक सञ्चालन भइरहेका छन्। नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सुविधा दिलाउन गाउँपालिकामा आधारभूत अस्पतालको काम सुरु गरिएको छ।

अस्पताल निर्माणको कामलाई बहुवर्षीय नहुँदा रोकिएको निर्माण कार्यलाई निरन्तरता दिन प्रदेश सरकारले अस्पताल निर्माणको लागि गत आवमा तीन करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। सात स्थानमा रहेका स्वास्थ्य चौकीका भवन निर्माण गर्ने योजना बनाउनन प्रक्रिया थालिएको थिङले बताए। यस्तै गाउँपालिकाले ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कफी खेतीमा प्रतिकिलोग्राम ३५ रूपैयाँ अनुदान दिन सुरु गरिएको छ।

गाउँपालिकाभित्र दूध, मासु उत्पादन र जडीबुटीबाट आम्दानी गर्न सकिने भएकाले किसानलाई दुधमा अनुदान दिने कार्यक्रम ल्याउने तयारी भइरहेको तथा खानेपानीका लागि ‘एक घर, एक धारा’ कार्यक्रमलाई योजनाबद्ध बनाइएको छ। गाउँपालिकाभित्र नागरिकले हाल खुवा बिक्री गरेर मासिक एक लाख रूपैयाँ आम्दानी गर्दै आएकाले सडकको सुगमताले यो पेसालाई अन्य युवा तथा कृषकले अनुशरण गरी आम्दानीको स्रोत बढाउने छन्। 

डाँडापारिका दुई गाउँपालिका करिब तीन हजार ३ सय परिवार हालैदेखि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै बिजुलीको उज्यालोमा बस्न पाएका छन्। दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले एक अर्ब ५६ करोड रूपैयाँ रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु भएको थियो।

रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप ३० करोड रूपैयाँ माग गरी विद्युतीकरणको कामलाई सम्पन्न गरिएको महाभारतका अध्यक्ष जिम्बाले बताए। उनका अनुसार घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार रूपैयाँ अनुदानसमेत उपलब्ध गराइएको थियो।

केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिएको थिएन। यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो।

यसैबीच, बीपी लोकमार्गलाई प्रदेश राजधानी हेटौँडासँग जोड्नका लागि ‘जनमुक्ति मार्ग’ अन्तर्गत विभिन्न सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ। प्रदेश राजधानीसम्म सडक मार्ग जोडी छोटो दुरीमा पुग्नका लागि जनमुक्ति मार्गअन्तर्गत हाल तीन चरणमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य अघि बढिरहेको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

कार्यालयका अनुसार बीपी लोकमार्ग र हेटौँडा जोड्ने मदन भण्डारी राजमार्गसम्म जोड्नका लागि पहिलो चरणमा पिन्थली-रजबास-भूमिचूली-बुढाखानी-तीनखुट्टे १७ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम द्रुत रुपमा भइरहेको छ।

उक्त सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ६० करोड रूपैयाँमा ठेक्का सम्झौतापछि काम भएकोले समपूरक अनुदानतर्फ गत आवमा संघीय सरकारले २० करोड रूपैयाँ र प्रदेश सरकारले २० करोड रूपैयाँ विनियोजन गरेको छ। जनमुक्ति मार्गअन्तर्गत नै महाभारत गाउँपालिकाको तीनखुट्टेदेखि गाउँपालिकाको केन्द्र देविटारसम्मको साढे आठ किमी सडक कालोपत्रेको कामसमेत भइसकेको छ।

बीपी लोकमार्गदेखि हेटौँडा जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि तेस्रो चरणमा महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखि-घर्तीछाप-गोकुलेसम्मको नौ दशमलव ३ सय ८० किलोमिटर सडक ३९ करोड रूपैयाँमा स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ। जनमुक्ति मार्गअन्तर्गत महाभारतभित्र ३५ किमी सडक स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको हो। कुल लम्बाइ ९३ किमी रहेको उक्त मार्गका लागि तीन अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ। रासस


प्रकाशित : बुधबार, चैत २७ २०८११६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend