काठमाडौं- बजेट निर्माणको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले गरेको बहस महत्वपूर्ण रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्।
मंगलबार नाडा अटो डाइलग कार्यक्रममा अर्थ मन्त्रालय, प्रधानमन्त्री वा सरकारको मात्र नभइ बजेट निर्माण सबै सरोकारवाला चासो र काम भएको अर्थमन्त्रीले बताएका छन्।
नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले अटोमोबाइल व्यवसायीलाई ठोस सुझाव दिन आग्रह गरे।
ट्रेडिङबाट सुरू भएको अटोमोबाइल व्यवसाय एसेम्बल हुँदै निर्माणतर्फ उन्मुख हुनु सकारात्मक भएको पौडेलको भनाइ छ।
राष्ट्र बैंक स्वायत्त निकाय भएकाले उसले ल्याएको नीति इन्टरफेयर त गर्न नसकिने तर आवश्यकतालाई बोध गरेर छलफल गर्न भने सकिने अर्थमन्त्री पौडेलले बताए।
अर्थतन्त्र चलायमान बनाउन कानूनी सहजीकरणदेखि कार्यान्वयन र व्यवसायीलाई प्रेरित गर्नेतर्फ सरकार लागेको समेत उनको भनाइ छ। नाडाले श्रम मन्त्रालयसँग दक्ष जनशक्ति उत्पादनका लागि भए गरेका पहल सकारात्मक भएको अर्थमन्त्री पौडेलले बताए।
नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्र लामो समयदेखि तंग्रिन नसकेको बताए। अबको बजेटमा सरकारले अटोमोबाइल क्षेत्रलाई सहज हुनेगरी काम हुनु पर्ने उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लोन टू भ्यालु रेसियो बढाएकाले यसले थलिएको अटोमोबाइल व्यवसायलाई थप समस्यामा पार्ने चौधरीको भनाइ छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सवारीसाधनलाई विलासीताको साधनमै राखिरहन नहुने बताएका छन्।
'भन्सार बढाएर मात्र अटोमोबाइल क्षेत्रको विकास हुन सक्दैछ। विगतमा आयातमात्र हुने अटोमोबाइल क्षेत्र अहिले उत्पादनतर्फ लागेकाले सरकारले प्राथमिकतामा राख्नु पर्छ,' उनले भने।
एकैपटक गाडी नै बनाउनेभन्दा पनि पार्टपूर्जा उत्पादनका लागि व्यवसायीलाई आग्रह गर्नुपर्ने मन्त्री भण्डारीको भनाइ छ। संसारभर गाडी उत्पादन पार्टपूर्जा उत्पादनबाटै सुरू भएको र यसले रोजगारी सिर्जना गर्ने उनले बताए।