काठमाडौं- चालु आर्थिक वर्ष चार वाणिज्य बैंकमा सीईओ परिवर्तन भएका छन्। ग्लोबल आईएमई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई र एनएमबि बैंकमा यसै वर्ष नयाँ सीईओ आइसकेका छन्। यस्तै नबिल बैंक पनि नयाँ सीईओ ल्याउने तयारीमा छ।
सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले गभर्नर नियुक्तिका लागि भन्दै राजीनामा दिएपछि नबिल बैंकमा पनि सीईओ पद खाली भएको छ। मनोज ज्ञवालीलाई कामु सीईओ बनाएर बैंकले आफ्नो दैनिक कार्य सञ्चालन गरिरहेको छ।
यस्तै ग्लोबल आईएमई बैंकका तत्कालीन सीईओ रत्नराज बज्रचार्यको उमेर ६५ वर्ष पुगेसँगै उनी आवकास भएका हुन्। उनको स्थानमा सिनियर बैंकर तथा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई सञ्चालक समितिले सीईओमा बढुवा गर्यो।
यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले यसै वर्ष पहिलोपटक नेपाली नागरिकलाई सीईओ नियुक्त गरेको छ। पूर्व सीईओ अनिर्वाण घोष दास्तिदारको ८ वर्षे कार्यकाल सकिएसँगै स्टाण्डर्ड चार्टर्ड बैंकले गोरख शम्सेर राणलाई बैंकको सीईओ बनाएको छ।
पञ्जाव बैंकसँग ज्वाइन्ट भेन्चर रहेको एभरेष्ट बैंकपछि स्टाण्डर्ड चार्टर्ड बैंकले पनि नेपालीलाई नै सीईओ बनाएको हो। यसअघि एभरेष्ट बैंकले २०७७ सालमा सुदेश खालिङलाई सीईओ बनाएको थियो।
यस्तै नेपाल एसबिआई बैंकले रामकुमार तिवारीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। यसअघिका सीईओ दीपक कुमारको कार्यकार सकिएपछि भारतीय एसबिआई बैंकमा कार्यरत तिवारीलाई नेपालमा सीईओ बनाएर पठाएको हो।
यस्तै एनएमबि बैंकले पनि नयाँ सीईओ नियुक्ति गरेको छ। नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका सुनिल केसीको ८ वर्षे कार्यकाल सकिएसँगै एनएमबि बैंकले दोस्रो नम्बरका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेलाई बैंकको सीईओ नियुक्त गरेको हो। केसीले आगामी बैशाखको दोस्रो साताबाट एनएमबि बैंक छाड्दै छन्।
यस्तै गत आर्थिक वर्ष सरकारले आफ्नो स्वामित्व रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा नयाँ सीईओ नियुक्त गरेको थियो।
गत चैतमा राष्ट्रिय वाणिज्य बैंकबाट किरणकुमार श्रेष्ठ ८ वर्षे कार्यकाल पूरा गरी आवकास भएपछि उनको स्थानमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देवेन्द्ररमण खनाललाई सीईओ नियुक्त गरेको थियो।
यस्तै नेपाल बैंक लिमिटेडमा कृष्णबहादुर अधिकारी अवकास भएपछि उनको स्थानमा तिलकराज पाण्डेय नियुक्त भएका थिए।
अघिल्लो वर्ष सरकारले कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङलाई ल्याएको थियो। यस्तै गत वर्ष नै कुमारी बैंकले रामचन्द्र खनाललाई सीईओ बनाएको थियो।
विगत तीन वर्षयता नेपालका वाणिज्य बैंकहरूमा नयाँ सीईओ आउने क्रम बढेको छ। आगामी समयमा थप केही बैंकहरूमा नयाँ सीईओ आउने सम्भावना देखिन्छ।
मर्जर तथा एक्विजिसनमा राष्ट्र बैंकले सुविधा दिएपनि सर्वोच्च अदालतको फैसलाका कारण प्रभु बैंक र हिमालयन बैंकमा नयाँ सीईओ आउने सम्भावना देखिन्छ।
प्रभु बैंकका सीईओ अशोक सेरचन गभर्नर बन्ने दौडमा छन्। उनलाई सरकारले गभर्नर नियुक्त गरेमा केही दिनमै प्रभु बैंकमा समेत सीईओको पद खाली हुने देखिन्छ।
यस्तै हिमालयन बैंकका सीईओ अशोक राणा आफ्नो कार्यकाल थप लम्ब्याउने सोचमा नरहेको बताइन्छ। स्वास्थ्य अवस्थालाई देखाउँदै उनी हिमालयन बैंकको सीईओ पद छोड्ने मनस्थितिमा पुगेको बताइन्छ।
यस्तै एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेको ८ वर्ष कार्यकाल आगामी वर्ष सकिँदैछ। यस्तै सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेललाई दोहोर्याउने पक्षमा सञ्चालक समिति नरहेको बताइन्छ।
यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले तोकेअनुसार ६५ वर्ष उमेरहद ननाघेका सीईओहरू नै ६ महिनाको कुलिङ अवधि कटाएर नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंकमा आउने सम्भावना उच्च देखिन्छ। कुन व्यवस्थापक कुन बैंकमा आउँछन् भन्ने विषय अझै प्रस्ट भइसकेको छैन।
नबिल बैंकले हालका कामयमुकाय सीईओ मनोज ज्ञवालीलाई सीईओ बनाउने सम्भावना उच्च छ। आगामी गभर्नर नियुक्तिले पनि कुन बैंकमा कुन सीईओ आउने भन्ने विषयलाई थप प्रस्ट पार्ने देखिन्छ।