बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

कामको खोजी गर्दै वीरगञ्ज घण्टाघर धाउनेहरू

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २२ २०८१
images
images
कामको खोजी गर्दै वीरगञ्ज घण्टाघर धाउनेहरू

करिडोरमा झन्डै ५० हजार कामदार कार्यरत रहेको बताइन्छ। पर्सा र बारामा सानाठूला उद्योगधन्दा कति छन् भन्ने यकिन तथ्यांक छैन, तर ८०० देखि एक हजार २०० को हाराहारीमा उद्योगधन्धा रहेको अनुमान गरिएको छ।

images
images

पर्सा- वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ। घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरु सडकमा नै रोजगारदाताको पर्खाइमा बसिरहेका हुन्छन्। 

images
images

सडकमा बसिरहेका श्रमिकतर्फ फर्किएर नजर लगाउने नयाँ मान्छे देख्ने बित्तिकै कामको खोजीमा आएका श्रमिकहरु काम दिने नाइके वा रोजगारदाताको मान्छे हो कि? भनेर दौडिएर झुम्मिने गर्छन्।

images
images

यो दृश्य घण्टाघर चोकमा वर्षाैंदेखि जारी छ। अन्य दिनजस्तै चैत २१ गते पनि वीरगञ्ज महानगरपालिका-२३ प्रसौनी बिर्ताका रामबालक चौहान बिहानको नृत्यकर्म सकेपछि कामको खोजीमा वीरगञ्जको घण्टाघर चोकमा आएका छन्। 

images
images

'कति बेला काम दिने नाइके आउँछन् भनेर हेरेको हेर्‍यै गरेका हुन्छौँ,' घण्टाघरतर्फको घडीको सुई देखाउँदै चौहानले भने, 'हेर्नुस् त अहिले बिहानको ९ बजिसक्यो, काम दिने मान्छे अहिलेसम्म आइपुगेका छैनन्।'

४७ वर्षे चौहान आफ्नै गाउँघरमा काम नपाएपछि रोजीरोटी चलाउनका लागि घण्टाघर धाउनुपर्ने बाध्यतामा रहेको सुनाउँछन्। चौहान आफू राजमिस्त्री भएको बताउँछन्। 'आफ्नै गाउँघरमा काम पाए त किन यहाँ धाउनुपथ्र्याे र?' उनले भने, 'छ छोरी र एक छोरा पाल्नुपर्ने बाध्यताले नै यहाँसम्म डोर्‍याएको हो। दुःखजिलो गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा पनि दिएको छु।'

चौहानले  काम पाउँदा आफूले दैनिक ९ सय रुपैयाँ कमाइ गर्ने बताउँछन्। 'जग्गाको नाउँमा पाँच धुर जग्गामा एउटा घर मात्रै छ,' उनले भने, 'दैनिक ९०० को ज्याला मजदुरीले आफूसहित नौजनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ।'

चौहानले नियमित काम नपाउँदा खानलाउन पनि समस्या हुने गरेको गुनासो गरे। वीरगञ्जको घण्टाघर चोकमा कामको खोजीमा भौँतारिनेमा चौहान एक्ला होइनन्। उनीजस्तै दिनहुँ कामको खोजीमा यहाँ सयौँ जना मजदुर आउने गर्छन्। यहाँ दिनहुँ कामको खोजीमा धाउनेमा वीरगञ्ज महानगरपालिका-२२ का ४५ वर्षे राज करिम पनि छन्।

'काम पायो भने त सात जनाको परिवार पाल्न कुनै गाह्रो छैन,' उनले भने, 'काम पाएन भने त परिवारका सदस्यलाई के खुवाउने भन्ने चिन्ताले सताउने गर्छ।'

करिमका अनुसार वीरगञ्जमा ‘लेबर’ (मजदुर) काम गर्ने मजदुरको ज्यालादारी पनि समान नभएको गुनासो पोख्छन्। 'हाम्रो कामको कुनै दररेट छैन। कसैले एक दिनको ७५० दिन्छन्। कसैले ६०० के गर्नु काम नगरेर पनि भएन,' उनले भने, 'पहाडी जिल्लाको तुलनामा तराई-मधेसमा ज्याला निकै कम पाइने गर्छ।' घण्टाघर चोक वर्षौँदेखि श्रमिक र रोजगारदाताका लागि चौतारी बन्दै आइरहेको छ। 

वीरगञ्ज महानगर-२ छपकैयाका रामपुकार साह भाग्य बलियो भएको दिन मात्रै काम पाइने दाबी गर्छन्। 'दिनदिनै कामको खोजीमा आउने गर्छाैं। तर कुनै दिन काम पाउँछ, कुनै दिन रित्तै हात फर्किनुपर्छ,' उनले भने, 'काम पाइएन भने त बूढीआमासहितको सातजनाको परिवारलाई के खुवाउने भन्ने चिन्ताले सताइहाल्छ नि।' 

साहले चार छोरा, श्रीमती र आमासहितको परिवारको गर्जाे टार्दै आइरहेको बताए। 'म कहिल्यै यो काम, त्यो काम भन्ने गर्दिनँ,' उनले भने, 'जे काम पाइन्छ त्यही गर्ने हो। हामी यहाँ पनि काम गर्नकै लागि आएका हौ नि।'

साह मजदुरहरु बिहानदेखि दिउँसो २ बजेसम्म कामको खोजीमा पर्खिने बताउँछन्। 'दिनको दुई बजेसम्म पनि आधा दिनको भएनि काम पाइएला कि भनेर पर्खिने गर्छाैं,' उनले भने, 'दुई बजेपछि भने काम पाइएन भन्दै फर्किने हो।'

घण्टाघरमा भेटिनुभएका समिमा कन्स्ट्रक्सन प्रालि वीरगञ्जका सञ्चालक नियाजबाबु शेखले प्रसौनी नरकट्टियामा नाला निर्माणका लागि १५ जना मजदुरको खोजीमा आएको बताए।

'प्रसौनी नरकट्टियामा नाला बनाउने कामको ठेक्का लिएका छौँ। त्यसका लागि मजदुर चाहिएर यहाँ लिन आएको हुँ,' उनले भने, 'आवश्यकता अनुसारका मजदुरहरु भेटिने भएकाले पनि यहाँ आउने गर्छौं।' सञ्चालक शेखले औसतमा मजदुरहरुको दररेट ६०० देखि ७०० रुपैयाँ रहेको बताए।

रौतहटको गौर नगरपालिका-६ सबगाडा स्थायी घर भएका मोहमद मम्ताज मिया पनि विगत पाँच वर्षदेखि घण्टाघर चोकमा कामको खोजीमा दिनहुँ धाउनेमा पर्छन्। 'लेबर मजदुरको काम दिनदिनै भने पाइँदैन। तीन दिन काम गर्‍यो। फेरि तीन दिन बस्नुपर्ने बाध्यता छ,' उनले भने, 'पछिल्लो समय मन्दीका कारणले घरहरु कम बन्दा पनि काम पाउन मुस्किल भइरहेको छ।'

मियाँले मुस्किलले दैनिक रु साढे ३०० बचत गर्ने बताउँछन्। 'गाउँघरमा बुबाआमासहितको परिवार पाल्नुपर्ने दायित्व छ,' उनले भने, 'काम पाउँदा त जेनतेन गुजारा चलाउँदै आइरहेका छौँ।' 

वीरगञ्ज महानगरपालिका-२१ पटेल नगरका वीरेन्द्र पटेल आफ्नो घरको भुइँ ढलान गर्नका लागि दुईजना मजदुर खोज्न घण्टाघर चोकमा आउनासाथ मजदुरहरुले ‘मलाई लैजानुस्’ भनेर तँछाडमछाड नै गरे। 'यहाँ मजदुर छानीछानी लैजान पाइने भएकाले पनि आएको हुँ,' उनले भने, 'गाउँघरमै काम गर्ने मान्छे नपाएपछि त यहाँ आउनुपरेको हो।'

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले वीरगञ्जको घण्टाघर चोक रोजगारदाता र श्रमिकका लागि ‘श्रमिक बैङ्क’ जस्तै गरेर चल्दै आइरहेको बताए। 'घण्टाघर चोकमा खासगरी अदक्ष खालका श्रमिकहरु कामको खोजीमा आउने गर्नुुहुन्छ। उहाँहरु विशेष गरेर निर्माण क्षेत्र र ‘लोडअनलोड’ गर्ने प्रकृतिका मौसमी श्रमिक हुनुहुन्छ,' उनले भने, 'कसैको घर ढलान गर्नका लागि ३० जना श्रमिक चाहियो भने नाइके आएर श्रमिक लिएर जाने परम्परा छ।' 

अध्यक्ष गौतमले घण्टाघरमा कामको खोजीमा आउने श्रमिकलाई उद्योगधन्दामा काम लगाउन अप्ठेरो हुने गरेको बताए। 'उद्योगधन्दामा नयाँ खालका मजदुरलाई बिस्तारै काम सिकाएर काममा पोख्त बनाएर काम गराउने गर्छाैं,' उनले भने, 'मौसमी काम गर्ने मजदुरलाई उद्योगधन्दामा काम लगाउन धेरै गाह्रो छ। उनीहरु नियमित काममा नआउने प्रवृत्तिले पनि मौसमी मजदुर व्यवस्थापन गर्न समस्या हुने गर्छ।'

बारा-पर्सा औद्योगिक करिडोरमा अधिकांश भारतीय मजदुर कार्यरत छन्। करिडोरमा झन्डै ५० हजार कामदार कार्यरत रहेको बताइन्छ। पर्सा र बारामा सानाठूला उद्योगधन्दा कति छन् भन्ने यकिन तथ्यांक छैन, तर ८०० देखि एक हजार २०० को हाराहारीमा उद्योगधन्धा रहेको अनुमान गरिएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार पर्सा जिल्लामा औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार ६४६ रहेको छ।

त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या १२६ रहेको छ। बारामा पनि औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार २२५ रहेको छ। त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या भने १५२ रहेको छ। रासस


प्रकाशित : शुक्रबार, चैत २२ २०८११३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend