काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी 'डीएफएसको'ले उत्पादन गरेको विद्युतीय भ्यान तथा माइक्रोबस अब नयाँ आधिकारिक बिक्रेतामार्फत बिक्री हुने भएको छ।
यसअघिको आधिकारिक बिक्रेता एनईभी नेपाल प्रालि र आइएमई समूह मिलेर बनेको नयाँ कम्पनीमार्फत उक्त ब्रान्डका विद्युतीय सवारी बिक्री हुने भएको हो।
दिगो समूहअन्तर्गतको एनईभी नेपाल प्रालिले यसअघि डीएफएसकेका विद्युतीय भ्यान तथा माइक्रोबस आयात तथा बिक्री गर्दै आएको थियो। आईएमई समूह पनि विद्युतीय सवारी व्यापारमा प्रवेश गर्न उपयुक्त ब्रान्ड र समयको पर्खाइमा थियो।
दियो र आईएमई समूहबीच डीएफएसके ब्रान्डमै साझेदारी गरेर जाने विषयमा लामो समयदेखि छलफल चलिरहेको थियो। आईएमई समूह दिगोको कम्पनी एनईभी नेपालमै लगानी गर्ने वा नयाँ कम्पनी खडा खरेर त्यसमार्फत दुवै समूहले लगानी गरेर डीएफएसकेलगायत विद्युतीय सवारीको आयात गरी व्यापार गर्नेभन्ने छलफलमा थियो। विभिन्न मोडालिटीमा छलफल भएर अन्ततः दुई समूह नयाँ कम्पनी बनाएर व्यवसाय गर्न राजी भएका हुन्।
सोहीअनुसार आईएमई समूह र दिगो समूहले नयाँ कम्पनी अद्वीत इको मोबिलिटी प्रालि बनाइसकेका छन्। उक्त कम्पनीमा आईएमई समूहको बहुमत हिस्सेदारी रहेको छ।
योसँगै क्रमिक रुपमा डीएफएसकेको आधिकारिक बिक्रेता अद्वीत इको मोबिलिटीले थाल्ने र व्यवस्थापन तथा बजारीकरणको काम गर्ने छ। दुई समूहबीच केहीसमय एनईभी नेपालकै नाममा सवारी आयात गर्ने र त्यसलाई क्रमिक रुपमा अद्वीत इको मोबिलिटलाई हस्तान्तरण गर्ने जाने समझदारी बनेको छ।
एनईभी नेपाल प्रालिले डीएफएसकेका विद्युतीय भ्यान नेपाल ल्याएर बिक्री गर्न थालेको ४/५ वर्ष भइसकेको छ। तर कम्पनीले अपेक्षाकृत संख्यामा बिक्री भने गर्न सकिरहेको थिएन। यातायात व्यवसायीलाई विद्युतीय भ्यान/माइक्रोबस चलाउन ढराउनु नपर्ने र राम्रो आम्दानी हुने कुरा बुझाउन एनईभीले निक्कै मेहनत गरेको थियो। यसरी ‘ब्याकग्राउन्ड’मा काम गरेको एनईभीले बिक्रीमा भने आफूलाई सोहीअनुसार उभ्याउन सकेन। जसको फाइदा डीएफएसकेभन्दा पछि आएका कम्पनीले लिए।
उपादन राम्रो हुँदासमेत बिक्री गर्न नसकेपछि एनईभी नेपालले उपयुक्त साझेदारी खोज्दै विभिन्न प्रयास गरेको थियो। त्यसपछि आईएमई समूहलाई कम्पनीले खोजेजस्तो साझेदारी छनोटगरी सम्झौता गरेको हो।
हाल दिगो ग्रुपअन्तर्गत सीएचटीसी अटो, बीएफएसके सोकोन अटोमोबाइल, जेएसी मोटर्स तथा स्काइवेल ग्रुपअन्तर्गत विभिन्न सवारी ब्रान्डको आधिकारिक बिक्रेता रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ। डीएफएसके ब्रान्डअन्तर्गत ११ देखि १५ सिट क्षमतासम्मका विद्युतीय भ्यान तथा माइक्रोबस र सामान बोक्ने पिकअप ट्रक रहेका छन्।
अद्वीत इको मोबिलिटीले डीएफएसके ब्रान्डका सबै उत्पादनको आयात तथा बिक्री गर्ने छ। यसका साथै दिगो ग्रुपले युएसएडलगायत दातृ निकायसँग मिलेर ईभी चार्जङ स्टेसन निर्माण गरेर सञ्चालन गरिरहेको छ।
आईएमई समूहले विगतमा अटोमोबाइल धेरै ब्रान्ड ल्याएर बिक्री गर्दै आएको थियो। पछिल्लो समय आईएमई समूहअन्तर्गतको आईएमई मोटर्सले कमर्सियल सवारी ब्रान्ड अशोक लेल्यान्डका सवारी र एस्कर्टस ब्रान्डको हेभी इक्युपमेन्ट बिक्री गर्दै आएको छ।
त्यस्तै मोतुल ब्रान्डको लुब्रिकेन्ट पनि आयात गरेर बिक्री गरिरहेको छ। सर्भिस र देशभर राम्रो नेटवर्क रहेकाले आईएमई समूहले विद्युतीय भ्यान तथा माइक्रोबस राम्रो संख्यामा बिक्री गर्ने अनुमान छ।