शनिबार, असोज ५ गते २०८१    
images
images

बाजुरामा हिमपात : जनजीवन कष्टकर, सडक अवरुद्ध, किसान खुसी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २१ २०७८
images
images
बाजुरामा हिमपात : जनजीवन कष्टकर, सडक अवरुद्ध, किसान खुसी

सदरमुकाम मार्तडीसहित यहाँका नौ वटै पालिकामा हिमपात भइरहेको छ।

images
images

मार्तडी- मौसम बदलीसँगै सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लामा हिमपात भएको छ। बिहीबार साँझबाट बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका विभिन्न स्थानमा हिमपात भएको हो।

images
images
images

हिमपातका कारण चिसो निकै बढेको छ। चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ। चिसोका कारणले  वृद्धवृद्धा, बालबालिका बढी प्रभावित भएका छन्। हिमपातका कारण जिल्लाको आवतजावत नै बन्द भएको छ। यस वर्ष पटक-पटक भएको हिमपातका कारण मानिससँगै पशुचौपायालाई पनि समस्या भएको छ। हिमपातले चिसो बढ्दै गएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्।

लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन्। बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जिल्लामा भारी हिमपात भइरहेको छ। हिमपातका कारण नागरिक समस्यामा परेका छन्। शुक्रबार पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।

जिल्ला सदरमुकाम मार्तडीसहित यहाँका नौ वटै पालिकामा हिमपात भइरहेको छ। हिमपातका कारण पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिनका स्थानीयवासी बढी प्रभावित बनेका छन्। त्यहाँ मौसम बदली भएपछि हिमपात हुने गरेकाले सो क्षेत्रका स्थानीय बढी प्रभावित हुने गरेका छन्।

images

यसैगरी लामो समयदेखि सुख्खा रहेपछि समस्यामा परेका किसानलाई भने हिमपात भएपछि गहूँबालीमा राहत पुगेको छ। हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको किसान बताउँछन्। वर्षाले विभिन्न अन्नवाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो।

जिल्लाका बडिमालिका, बूढीनन्दा, दहडाँडा, बडालेखलगायतका उच्च हिमाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन्। जिल्लाका हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैनलगायतका क्षेत्रका किसानलाई भने समस्या भएको छ।

वन्यजन्तु चोरी सिकारी

जिल्लामा हिमपात सुरु भएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी सिकारी बढ्ने भएको छ। हिमपातका कारण जङ्गली जनावर न्यानो खोज्दै बेँसीमा आउने गरेकाले स्थानीयवासी घरेलु हतियारले (भाला छुरा) मारेर सिकार गर्न गरेका छन्।

लेकाली भेगमा रहेका हरिण, मृग, रतुवा, कालिज घोरललगायत जङ्गली जनावरको सहजै रुपमा उनीहरुले चोरी सिकारी गर्ने गरेका छन्। हिमपात भएपछि स्थानीयवासीले समूह बनाउँदै उनीहरुलाई पासोमा वा अन्य घरेलु हतियार प्रयोग गर्दै सिकार गर्ने गरेका हुन्। यहाँका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ, गौमुल, बडिमालिका, त्रिवेणीलगायतका पालिकामा स्थानीयवासीले जङ्गली जनावरको  चोरी सिकार गर्ने गरेका छन्।

जङ्गली जनावरको छाला निकालेर बिक्री पनि गर्ने गरेको पाइन्छ। सरकारले वन्यजन्तु सिकार गर्न नपाइने गरी कानुन बनाएको भएपछि हिमाली तथा पहाडी जिल्लाका स्थानीयवासीले लुकिछिपी जङ्गली जनावरको सिकार गर्न छोडेका छैनन्।

हिमपात भएपछि घरै जङ्गली जनावर बास खोज्दै आउने गरेकाले सिकार गर्न झन् सहज हुने गरेको छ। जङ्गली जनावरको चोरी सिकारी रोक्नका लागि डिभिजन वन र प्रहरीको सुरक्षामा निगरानी आवश्यक रहेको बताइएको छ। 

मार्तडी-कोल्टी सडक अवरुद्ध

जिल्लाको पूर्वी उत्तरी भेगलाई जोड्ने मार्तडी-कोल्टी सडक अवरुद्ध बनेको छ। बिहीबार रातिबाट वर्षासँगै हिमपात हुन थालेपछि उक्त क्षेत्रमा चल्ने सवारीसाधन ठप्प भएका छन्। पोरखे लेकमा बाक्लो हिमपात भएपछि सवारीसाधन नै आवजतजावत गर्न समस्या भएको हो। पूर्वी उत्तरी भेगमा हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्कन नसकेको नेपाल पत्रकार महासङ्घ बाजुराका उपाध्यक्ष सङ्गीता तिमिल्सेनाले बताए।

उनका अनुसार चार पालिकामा बाक्लो हिमपात भएको र चिसोसमेत बढेका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छैन। मार्तडी-कोल्टी सडकमा हिलाम्मे र हिमपातका कारण त्यहाँ चल्ने मालबहाक ट्याक्टर जीप मार्तडी र कोल्टीमा ठप्प भएका छन्। पोरखे लेकमा बाक्लो हिमपात भएका कारण स्थानीयवासीलाई पैदलयात्रा गर्न समेत सकस भइरहेको छ।

हिमपात हुन थालेपछि जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग सडकमासमेत सवारीसाधन सञ्चालन हुनसकेका छैनन्। प्रदेश राजधानी धनगढी, महेन्द्रनगरबाट बाजुरा आउने लामो दूरीका सवारीसाधन हिमपातका कारण बीच बाटोमै रोकिएका छन्। रासस


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०८:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend