बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

तीनकुने घटनाका दोषी सबैलाई कारबाही हुन्छ, पूर्वाराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न : प्रधानमन्त्री ओली

images
सोमबार, चैत १८ २०८१
images
images
तीनकुने घटनाका दोषी सबैलाई कारबाही हुन्छ, पूर्वाराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न : प्रधानमन्त्री ओली

तीनकुनेमा अर्को सभाका लागि स्थान दिइएकामा त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा रहेको प्रधानमन्त्रीको भनाइ छ।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषी कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्।

images
images

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत शुक्रबार काठमाडौंमा दुईवटा विरोधसभा आयोजना भएकामा समाजवादी मोर्चाको विरोध लोकतान्त्रिक र विधिसम्मत भए पनि पूर्वराजाको समर्थनमा भएको विरोध संविधान विरोधी रहेको स्पष्ट पारे।

images
images

पूर्वराजा ज्ञानेन्द्र शाह पनि तीनकुने घटनाका लागि जिम्मेवार रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले घटनामा संलग्न दोषी सबैलाई कारबाही गरिने हुने दृढता व्यक्त गरे। तीनकुने घटनाबारे सरकार गम्भीर रहे पनि संसद्‌मै रहेका दल आन्दोलनमा सहभागी रहेकाले सम्भावित हिंस्रक घटनाको कल्पना नगरिएको उनले बताए।

images
images

'यही चैत १५ गते दुईवटा रणनीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो। दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो। शान्ति, सुव्यवस्था कायम राख्दै विरोध, आलोचना गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरुलाई सचेत गराएको थियो', प्रधानमन्त्री ओलीले भने, 'यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरुको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्‍यो। आफ्नो धारणा सार्वजनिक गर्‍यो। सरकारलाई खबरदारी गर्‍यो। संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो। शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दछु। हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने म ठान्दछु।'

काठमाडौंको तीनकुनेमा अर्को सभाका लागि स्थान दिइएकामा त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा रहेका पनि प्रधानमन्त्री ओलीको भनाइ छ। त्यस कार्यक्रमको उद्देश्यमाथि आशंका गर्ने आधार रहेको र त्यसका आयोजकमध्ये केही व्यक्ति सदनमा उपस्थित दलका नेताहरुको पनि सहभागिता रहेकाले कार्यक्रमप्रति द्विविधासमेत रहेको उनले बताए।

तीनकुने घटनामा जुन उद्देश्यले कार्यक्रम गर्ने भनिएको थियो, त्योभन्दा फरक र हिंस्रक प्रकृतिको प्रदर्शन त्यहाँ भएको प्रधानमन्त्री ओलीले बताए। 'तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जानकारी गराएअनुसार सभा गरेनन्। उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भीड सलबलाउन थाल्यो। सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित ‘जनकमाण्डर’ आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो', प्रधानमन्त्री ओलीले भने, 'भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरियो।'

उक्त घटनामा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चारगृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोरहरु लुटपाट गर्नेजस्ता आपराधिक घटना भएको प्रधानमन्त्री ओलीले संसद्‌मा बताए।

'निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भयो। सुरक्षाका हिसाबले अति संवेदनशील ‘अन्तर्राष्ट्रिय विमानस्थल’मा आगजनी गर्ने र ‘प्रज्वलनशील पदार्थ’मा आगो लगाई विस्फोट गराउने आतंककारी कामसमेत भयो। प्रहरीका सवारीसाधन मात्रै हैन, आगो निभाउन पुगेका दमकलमाथि आक्रमण गरियो,' उनले भने।

यस्ता क्रियाकलाप निन्दनीय र खेदजनक रहेको उनले स्पष्ट पारे। साथै घटनामा संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गरिने प्रतिबद्धता उहाँले व्यक्त गरे। घटनाको विस्तृत अनुसन्धान गरी गृहमन्त्रीमार्फत संसद्लाई जानकारी गराइने पनि प्रधानमन्त्री ओलीले बताए।

'घटनामा संलग्न जोसुकै होऊन्, जुनसुकै ‘कभर’मा किन नहोऊन्, कडा प्रशासनिक कारबाही हुन्छ। घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुनेछ,' उनले भने। घटनामा संलग्नहरुमाथि छानबिन सुरु भइसकेको र यसका योजनाकार तथा संलग्नमाथि सरकारले छानबिन र अनुसन्धान गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

तीनकुने घटनाको पृष्ठभूमिका रुपमा करिब एक वर्षअघि देखिको घटनालाई अध्ययन गर्नु आवश्यक रहेको पनि उनले बताए। 'सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो। मौका खोजिरहेको थियो,' उनले भने, 'धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो। ऋण तिर्न पर्दैन भन्दै ऋणीहरुको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो।'

पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गरेलगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ। 'प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ,' ओलीले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार-व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उनलाई नागार्जुन दरबार प्रयोग गर्न र उनको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएकामा पूर्व राजा शाहले उक्त सहमति विपरीतका क्रियाकलापहरु गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

तीनकुने घटनाका दोषी कसैले पनि उन्मुक्ति नपाउने प्रतिबद्धता प्रधानमन्त्री ओलीले संसदमार्फत जनाएका छन्। 'आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न,' उनले भने, 'फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन? '

प्रधानमन्त्री ओलीबाट सम्बोधन भइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नियमापत्ति गर्दै विरोध जनाएका थिए। रासस


प्रकाशित : सोमबार, चैत १८ २०८११३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend