काठमाडौं- शंकास्पद कारोबार रिपोर्टिङ (एसटीआर) मा वाणिज्य बैंकहरू मध्यम देखिएका छन्। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ६ हजार १ सय ८१ शकांस्पद कारोबारको रिपोर्टिङ गरेका छन्। जसलाई राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले मध्यम भनेको छ।
१० लाखभन्दा माथि कारोबारमा स्रोत खुलाउनुपर्ने व्यवस्था रहेको छ। अघिल्लो वर्ष वाणिज्य बैंकमा ५ हजार १ यस ८७ वटा रिपोर्टिङ १० लाखभन्दा माथिका स्रोत नखुलेका कारोबारको रहेको थियो।
यस्तै विकास बैंकहरूले गत आर्थिक वर्ष ४ सय ९१ शंकास्पद कारोबारको रिपोर्टिङ गरेका छन्। यस्तै फाइनान्स कम्पनीले २ सय १७ र लघविुत्त संस्थाहरूमा १२ कारोबार शंकास्पद भेटिएको वित्तीय जानकारी इकाई (एफआईयू) ले जनाएको छ।
यस्तै इन्स्योरेन्स कम्पनीले भने ६२ बीमा प्रिमियम शंकास्पद भएको रिपोर्टिङ एफआईयूमा गरेको छ। अघिल्लो वर्ष बीमा कम्पनीहरूको १९ कारोबार मात्रै शंकास्पद देखिएको थियो।
बीमा कम्पनीहरूले जीवन बीमातर्फको वार्षिकरुपमा १ लाखभन्दा बढीको प्रिमियम र निर्जीवन बीमातर्फ ३ लाखसम्मको प्रिमियम योजनामा सम्पत्ति शुद्धीकरण लाग्ने व्यवस्था छ।
यस्तै सहकारी क्षेत्रमा गत वर्ष ८ कारोबार मात्रै शंकास्पद देखिएको छ। साथै क्यासिनोतर्फ १२ कारोबारमात्रै शंकास्पद देखिएको छ।
यस्तै रियल स्टेटतर्फ ३० लाखमाथि र क्यासिनोमा १० लाखदेखि कारोबारमा सम्पत्ति शुद्धीकरण लाग्ने व्यवस्था रहेको छ।
धितोपत्रसम्बन्धी ५२ करोबार शंकास्पद भएको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरिएको छ। रेमिट कम्पनीहरूको १२६ कारोबार शंकास्पद भेटिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्ष कुल ५ हजार ९ सय ३५ शंकास्पद कारोबार भेटिएकोमा गत वर्ष ७ हजार ३ सय ३८ शंकास्पद कारोबार भेटिएको जनाएको छ।
गत आर्थिक वर्ष भएका शंकास्पद कारोबारमध्ये ३ हजार ४ सय १७ सम्पत्ति शुद्धीकरण र २ हजार ४ सय ९८ करछलीका रहेका छन्।
यस्तै मुद्रा, बैंकिङ, वित्त, विदेशी विनियममा २ हजार १७, जालसाजीमा ९ सय २७, चिठ्ठामा ६ सय ८१, व्यापारमा ७० शंकास्पद कारोबार भेटिएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यस्ता शंकास्पद कारोबार उल्लेखीयरुपमा भेटिएको राष्ट्र बैंकले जनाएको छ।
गत आर्थिक वर्ष १६ लाख ६९ हजार ७ सय १२ कारोबार भएकोमा ९१.०५ कारोबार वित्तीय जानकारी इकाईको 'गोएमएल' प्रणालीमार्फत भएको छ। सम्पूर्ण शंकास्पद कारोबारमध्ये ९९ प्रतिशत कारोबार पनि उक्त प्रणालीमार्फत नै प्राप्त भएको हो।
अघिल्लो वर्ष कुल कारोबारको ७६.५५ प्रतिशत कारोबार मात्रै राष्ट्र बैंकको प्रणालीमार्फत देखिएको थियो। उक्त आर्थिक वर्ष कुल ९५.०८ प्रतिशत शंकास्पद कारोबार प्रणालीबाट देखिएको थियो।