काठमाडौं- राजावादी समूहको प्रदर्शनका क्रममा भएको आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूबारे सूचना दिएर सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
गएको शुक्रबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा गरिएका आपराधिक क्रियाकलापको तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गराइ अनुसन्धानमा सहयोग गरिदिन प्रहरीले आग्रह गरेको हो। सूचना दिने व्यक्तिको गोपनियता कायम हुने प्रहरीले जनाएको छ।
'चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ। सूचना र सूचनाकर्ताको गोपनियता कायम रहने व्यहोरा जानकारी गराउन चाहान्छौँ' प्रहरीले सार्वजनिक सूचनामार्फत भनेको छ।
शुक्रबार काठमाडौं तीनकुनेमा व्यक्तिको घरमा तोडफोड र आगजनी गरेको राजावादी समूहले कोटेश्वर भाटभटेनीमा लुटपाट मच्चाएको थियो।
तीनकुनेनजिकै आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको समूहले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणमा तोडफोड गरी त्यहाँ पार्किङमा राखिएको मोटरसाइकलहरू जलाएको थियो।
राजसंस्था समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि तीनकुनेमा प्रहरीसँग झडपसमेत भएको थियो।
उनीहरूले गाडीमा तोडफोड र आगजनी गर्ने, घरका सिसा फुटाउने, मोटरसाइकलमा आगजनी गर्ने र लुटपाट गर्ने काम गरेका थिए। राजा फर्काउन भन्दै गरिएको आन्दोलन अराजक भइरहँदा प्रशासनले काठमाडौंको कतिपय स्थानमा कर्फ्यू आदेशसमेत जारी गरेको थियो।
