काठमाडौं- राजा फर्काउने आन्दोलनका कमान्डर बनाइएका फरार दुर्गा प्रसाईंको राहदानी कालोसूचीमा राख्ने तयारी सरकारले गरेको छ। गत शुक्रबार पूर्वराजा फर्काउने भन्दै आन्दोलनको नेतृत्व गरेर हिंसात्मक बनाउँदै फरार भएपछि प्रसाईं फरार छन्। लुक्दै छिप्दै विदेश जान सक्ने भन्दै गृह मन्त्रालयले राहदानीलाई कालोसूचीमा राख्न लागेको हो।
पूर्वराजा फर्काउने आन्दोलको कमान्डर बनेका प्रसाईंले शुक्रबार आन्दोलनको नामा व्यक्ति हत्या र लुटपाट गर्न लगाउने मुख्य मतियारको रुपमा सरकारले खोजिजारी राखेको छ।
तीन दिन हुँदासम्म पक्राउ गर्न नसकेपछि अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुने र पक्राउ गर्न सहज हुने गृह मन्त्रालयको भनाइ छ। विभागलाई प्रसाईंको राहदानी कालोसूचीमा राख्न आइतबार नै पत्र पठाउने तयारी गृह मन्त्रालयले गरेको छ।
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं अहिले फरार छन्। प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको चैत १५ गतेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन र पत्रकार सुरेश रजक छन्।
राजावादी समूहको प्रदर्शन उग्र बन्दै काठमाडौं तीनकुनेमा व्यक्तिको घरमा तोडफोड र आगजनी गरेको समूहले कोटेश्वर भाटभटेनीमा लुटपाट मच्चाएको थियो।
तीनकुनेनजिकै आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको समूहले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणमा तोडफोड गरी त्यहाँ पार्किङमा राखिएको मोटरसाइकलहरू जलाएका थिए।
गाडीमा तोडफोड र आगजनी गर्ने, घरका सिसा फुटाउने, मोटरसाइकलमा आगजनी गर्ने र लुटपाट गर्ने काम गरेका थिए।