काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले राजावादीको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिसँगै धनजनमाथि भएको आक्रमणको विरोध गर्दै क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
शुक्रबार काठमाडौं तीनकुनेमा राजावादी समूहको प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा केही समूहले आगजनी र तोडफोड गरेको थियो।
महासंघले सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाटलगायतका हिंस्रक घटनाबाट ठूलो क्षति पुगेको भन्दै क्षतिपूर्ति दिलाउन माग गरेको हो।
'विभिन्न माग राखी हुने गरेका आन्दोलन/प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ', महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय रहेको महासंघले जनाएको छ।
'कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भत्सर्ना गर्दछ। साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ।