काठमाडौं- शुक्रबारको प्रदर्शनमा तोडफोड भएको काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी आज बिहानदेखि नै नियमित सञ्चालनमा आएको छ।
कोटेश्वर तीनकुनेमा शुक्रबार भएको राजावादी समूहको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले त्यहाँस्थित भाटभटेनीको भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी, कपडा, फलफूल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको थियो।
साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुर्याएको भाटभटेनी सुपरमार्केट्सका सीईओ पानु पौडेलले जानकारी दिए। क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने बताउँदै रातभरको सरसफाइपछि बिहानदेखि नै सञ्चालनमा आएको उनले बताए।
एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्याउनेहरुलाई सरकारले छिट्टै कानूनी दायरामा ल्याउनेछ भन्ने विश्वास उनले व्यक्त गरे।