काठमाडौं- 'सोलार आवर'बाहेक साँझको समयमा पनि नेपाललाई आवश्यक बिजुली दिन भारत सकारात्मक देखिएको छ।
बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यलाई भारतीय विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले फोन गरेर भारत साँझको समयमा पनि बिजुली दिन सकारात्मक भएको जानकारी दिएका हुन्।
'सोलार आवर' बाहेक साँझको समयमा पनि आवश्यक बिजुली उपलब्ध गराउने आग्रहसहितको प्रस्ताव नेपालले केही दिन अगाडि भारतलाई पठाएको थियो। नेपालले गरेको प्रस्वात भारतीय विद्युत मन्त्री मनोहरलाल खट्टरकोमा पुगेको छ।
भारतीय सचिव अग्रवालले नेपालका सचिव आचार्यलाई भारतीय मन्त्री सकारात्मक भएको जानकारी दिएका छन्।
'भारत सरकारलाई नेपालको अवस्थाका बारेमा जानकारी गराइएकोले भारत पनि सकारात्मक भएको छ,' सचिव आचार्यले भने।
नेपाललाई 'सोलार आवर' बाहेक बेलुका ६ बजेदेखि १२ बजेसम्म बिजुली दिन भारत तयार देखिएकोले केही दिनमै सकारात्मक निर्णय आउने समेत आचार्यले जानकारी दिए।
नेपाललाई अहिले पनि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म दैनिक ७ सय मेगावाटसम्म आयातको अनुमति दिइएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार निजी क्षेत्र र प्राधिकरणको गरेर मंगलबार साँझ पनि १४५० मेगावाट बिजुली उत्पादन भइरहेको छ।
नेपालको अहिले पिक आवरमा डिमान्ड १९ सय मेगावाटसम्म पुग्ने गरेको छ। सोही अवधिमा आवश्यक बिजुली भारतबाट आयात गर्न सकेमा उद्योगमा पनि बिजुली दिन सकिने भएकोले सरकारले त्यतातर्फ ध्यान दिइरहेको सचिव आचार्यले जानकारी दिए।
भारतले सोलार आवरमा मात्रै बिजुली दिन थालेपछि नेपालमा बिजुलीको लोड धान्न मुस्किल भइरहेको छ। नेपालबाट उत्पादित बिजुली अधिकांश 'रन अफ दि रिभर' रहेको छ। वर्षातमा ३३ सय मेगावाट भएपनि हिउँदमा उत्पादन घटेर लोड धान्न मुस्किल पर्छ।
यसैले विगतका वर्षमा रातको समयमा पनि भारतबाट बिजुली आयात गरेर लोड धान्ने गरिएको थियो। अहिले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै भारतले बिजुली दिएपछि नेपालमा हाहाकार हुने स्थिति आएको हो। जसका कारण उद्योगमा १२ घण्टाभन्दा बढी लोडसेडिङ जारी छ।
यसअघि परराष्ट्र मन्त्री डा. आरजु राणाले पनि भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई भेटेर साँझको समयमा बिजुली आयातको अनुमति दिन आग्रह गरेकी थिइन्। भारतीय दूतावासाले नेपालमा साँझको समयमा बिजुली दिनका लागि भारतीय ऊर्जा मन्त्रालयमा समन्वय अगाडि बढाएको थियो।
प्राधिकरणले भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली किन्दै आन्तरिक माग पूर्ति गर्ने प्रयास गर्दै आएको छ। विद्युत उत्पादन कम हुने मार्च १५ देखि मे १५ सम्म तीन महिनाको समयमा भारतीय एक्सचेन्ज मार्केटमा ‘सोलार आवर’ अर्थात बिहान ६ देखि बेलुकी ६ बजेसम्म मात्रै बिजुली आयात गर्न सकिन्छ। रातिको समयमा आयात गर्न नदिएपछि औद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ भइरहेको हो।