सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

कुलमान घिसिङलाई हटाउनुमा सरकारले दियो १० प्रमुख कारण

images
बुधबार, चैत १३ २०८१
images
images
कुलमान घिसिङलाई हटाउनुमा सरकारले दियो १० प्रमुख कारण
images
images

काठमाडौ- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गर्नुका पछाडि विभिन्न प्रशासनिक, कानूनी तथा कार्यसम्पादनसम्बन्धी गम्भीर कारणहरू दिएको छ।

images
images

गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

images
images

सरकारलाई बारम्बार असहयोग गर्नुका साथै मनपरि निर्णयहरू गर्ने गरेको, महत्वपूर्ण निर्णय गर्नुअघि लिनुपर्ने आवश्यक अनुमति नलिने गरेकोजस्ता आरोप घिसिङमाथि छ।

images
images

घिसिङलाई बर्खास्त गर्नुका पछाडि मन्त्रिपरिषद्का निर्णयका १० प्रमुख आधारहरू यस्ता छन् - 

१. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाउनु - 

ऊर्जा मन्त्रालय र कुलमान घिसिङबीच भएको कार्यसम्पादन सम्झौताको दफा ९.५ अनुसार आ.व. २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन २०८१ भदौभित्र मन्त्रालयमा पेश हुनुपर्ने थियो। तर, सो समयसीमाभित्र प्रतिवेदन नबुझाइएको हुँदा कार्यसम्पादन मूल्याङ्कन ग्राह्य हुन सकेन। यसले कार्यसम्पादन सम्झौताको उल्लंघन गरेको देखिएको छ।

२. नेपाल-भारत ऊर्जा आदानप्रदान सम्झौतामा अधिकारविहीन हस्ताक्षर - 

सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा आयोजित १५औं र १६औं बैठकमा कुलमान घिसिङ वार्ता टोली प्रमुखको हैसियतमा सहभागी भए। तर, नेपाल सरकारको पूर्वस्वीकृति तथा सञ्चालक समितिको अनुमतिबिना भारतीय पक्षसँग सम्झौतापत्रमा हस्ताक्षर गरे, जुन अनधिकृत निर्णय थियो।

३. नेपाल सरकारको निर्देशन अवज्ञा गर्दै विद्युत खरिद सम्झौता - 

२०७७ साल साउन ५ गते मन्त्रिपरिषद्ले भारत तथा बंगलादेशसँग विद्युत खरिद-बिक्री सम्बन्धी सम्पूर्ण चरणहरूका लागि पूर्वस्वीकृति दिने निर्णय गरिसकेको थियो। कुलमान घिसिङले भारतमा विद्युत खरिद सम्झौताका लागि वार्तामा जानुअघि सञ्चालक समितिबाट अनुमोदन नलिइ प्रक्रिया अघि बढाएका थिए, जुन प्राधिकरण ऐन २०४१ विपरीत छ।

४. ऊर्जामन्त्री र सचिवको अनुपस्थितिमा अनधिकृत निर्णय -

२०२५ फेब्रुअरी १२ मा ऊर्जामन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य भारत भ्रमणमा रहेका बेला कुलमान घिसिङले नयाँ विद्युत दर तथा खरिद सम्बन्धी समझदारी गरेको दाबी गरे। तर, मन्त्रालयले उक्त सम्झौताका लागि कुनै आधिकारिक म्यान्डेट दिएको थिएन।

५. डेडिकेटेड फिडर तथा ट्रंक लाइन ग्राहकहरूको बक्यौता रकमको विषय - 

२०८१ कार्तिक २५ गते मन्त्रिपरिषद्ले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपयोग गर्ने ग्राहकहरूको बक्यौता महसुल १५ दिनभित्र असुल गर्न निर्देशन दिएको थियो। मन्त्रालयले विद्युत प्राधिकरणलाई कार्यान्वयनका लागि पत्राचार गरे पनि कुलमान घिसिङले सो निर्देशन पालना गरेनन्।

६. अनधिकृत रूपमा विदेश भ्रमण तथा बिदा लिने प्रवृत्ति - 

नेपाल विद्युत प्राधिकरणको विनियमावली २०६१ को विनियम १८ र ३२ अनुसार कार्यकारी निर्देशकले सञ्चालक समितिको स्वीकृतिबिना विदेश भ्रमण गर्न पाइँदैन। कुलमान घिसिङले पटक–पटक स्वीकृतिबिना विदेश भ्रमण गरेका थिए।

७. सञ्चालक समितिका निर्णयहरूको कार्यान्वयन नगर्नु - 

प्राधिकरणको सञ्चालक समितिले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेका थिए, तर कुलमान घिसिङले ती निर्णयहरू कार्यान्वयन गर्न आलटाल गरेका थिए। जसले गर्दा संस्थागत सुधारका पहलहरूमा अवरोध पुगेको थियो।

८. सञ्चारमाध्यममा गोप्य दस्तावेज सार्वजनिक गर्नु -

मन्त्रिपरिषद्ले २०८१ फागुन २१ मा कुलमान घिसिङलाई आफ्नो बचाउका लागि सफाइ पेश गर्न निर्देशन दिएको थियो। तर, उनले मन्त्रिपरिषद्मा विधिवत् रूपमा सफाइ पेश गर्नु अगावै सञ्चारमाध्यममा आफ्नो पक्ष सार्वजनिक गरे। यसले उनको पदको दुरुपयोग देखिएको छ।

९. विद्युत प्राधिकरणभित्र गुटबन्दी सिर्जना गर्नु - 

नेपाल विद्युत प्राधिकरणमा कर्मचारीहरूबीच गुटबन्दी खडा गरी समग्र कार्यसम्पादनमा ह्रास ल्याएको आरोप उनीमाथि लागेको छ। यसको प्रत्यक्ष असर संस्थाको सञ्चालनमा परेको देखिन्छ।

१०. संघीय संसद र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु - 

एक सरकारी संस्थाका प्रमुखका रूपमा रहँदा उनले पटक–पटक संघीय संसद तथा नेपाल सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए, जसले संस्थागत मर्यादा र पदको गरिमामा आँच पुर्याएको थियो।

कुलमान घिसिङले कार्यसम्पादन सम्झौताको उल्लंघन, अनधिकृत निर्णय, सरकारी निर्देशनको अवज्ञा, तथा प्रशासनिक कमजोरी देखाएपछि मन्त्रिपरिषद्ले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारले नेपाल विद्युत प्राधिकरणको नेतृत्वलाई स्वच्छ, पारदर्शी र उत्तरदायी बनाउन सो कदम चालेको जनाएको छ।


प्रकाशित : बुधबार, चैत १३ २०८१०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend