काठमाडौं- लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले भेन्यूपछि नेपालमै बनेको हुन्डाई क्रेटा सार्वजनिक गरेको छ।
कम्पनीले केही महिनाअघिदेखि क्रेटाको सीकेडी आयात गरेर परीक्षण उत्पादन गर्दै आएको छ। परीक्षणलगायत सबै प्रक्रिया पूरा गरेर सोमबार नेपालमै बनेको क्रेटा लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री लागि सार्वजनिक गरेको हो।
यसको सबैभन्दा सवल पक्षको रुपमा मूल्य देखिएको छ। भारतमा बनेर आयात भएको क्रेटाको तुलनामा लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै बनेको क्रेटाको मूल्य ९ लाख रुपैयाँसम्म घटाएको छ। लक्ष्मी समूहले नवलपरासीको रामग्राममा स्थापना गरेको एसेम्बल प्लान्टमा निर्मित क्रेटाको मूल्य ९ लाख रुपैयाँसम्म घटाएर सार्वजनिक गरेको हो।
सरकारले नेपालमा एसेम्बल हुने गाडीको एसेम्बल किट सीकेडी आयातमा ५० प्रतिशत कर छुट दिएको छ। चारपांग्रे एसेम्बल उत्पादन गरिरहेको लक्ष्मी समूहले यसअघि नेपालमै बनेको हुन्डाई भेन्यूको पनि मूल्य घटाएर बिक्री थालेको थियो।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा ५ वटा भेरियन्टमा उत्पादन गरिरहेको क्रेटाको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकेको छ। भारतमा बनेर आयात भएको क्रेटा ईएमटीको २०२५ को मूल्य ५७ लाख ९६ हजार रुपैयाँ छ। कम्पनीले बेस मोडलमै हुन्डाई क्रेटाको मूल्य ४ लाख रुपैयाँ घटाएको हो।
भारतमा बनेर आयात भएको क्रेटा एस (ओ) एमटीको मूल्य ६९ लाख ९६ हजार रुपैयाँ छ। तर नेपालमा एसेम्बल भएको सोही भर्सनको मूल्य ६३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो मोडल नेपालमै बन्दा ६ लाख रुपैयाँ मूल्य घटेको छ।
क्रेटा एसएक्स एमटीको ६६ हजार ९६ हजार तोकेको कम्पनीले भारतमा बनेर आयात गरिएको एसएक्सको मूल्य ७३ लाख ९६ हजार रुपैयाँ रहेको जनाएको छ। नेपालमा बनेको क्रेटा एस (ओ) सीभीटीको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि भारतबाट आयात गरिएको यही भेरियन्टको मूल्य ७५ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो।
त्यसैगरी नेपालमा बनेको क्रेटा एसएक्स (ओ) सीभीटीको मूल्य ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। भारतमा बनेर आयात गरिएको यही भर्सनको क्रेटाको बिक्री मूल्य ८७ लाख ९६ हजार रुपैयाँ तोकिएको थियो। क्रेटा टप भेरियन्टमा आयातितको तुलनामा नेपालमै बनेकोमा ९ लाख रुपैयाँ मूल्य घटेको हो।
सोमबार एक कार्यक्रम गरेर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटा दुई फरक इन्धनबाट चल्नेगरी एक साथ बजारमा ल्याएको हो। नेपाली सडकमा सर्वाधिक गुड्ने क्रेटा एसयूभी नेपालमै एसेम्बल भएको मोडल र विद्युतीय भर्सनको क्रेटा एकैसाथ बिक्री सुरु भएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ भने नेपालमा एसेम्बल भएको क्रेटाको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
एकै नाम र आकार प्रकरको क्रेटालाई लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा एक साथ दुई अप्सनमा क्रेटा पेट्रोल र ईभी खोज्ने दुबैको लागि अफर लिएर आएको छ।
नेपालमा एसेम्बल भएको नयाँ क्रेटामा १.५ लिटर क्षमताको इन्जिन छ। उक्त इन्जिनले अधिकतम १ सय १५ पीएस पावर दिन्छ। त्यस्तै क्रेटा ईभीमा ९९ किलोवाटको विद्युतीय मोटर उपलब्ध छ भने यसले १ सय ३५ पीएस पावर दिन्छ। अन्य आवश्यक विशेषताहरु आईसी र ईभी दुवै क्रेटामा उपलब्ध रहेको छ।