काठमाडौं- राष्ट्रिय जनगणना २०७८ सालका विभिन्न विषयत प्रतिवेदनहरू सार्वजनिक गर्ने क्रममा राष्ट्रिय तथ्यांक कार्यालयले विभिन्न विषयका प्रतिवेदन सार्वजनिक गरेको छ। यसमा प्रजननसम्बन्धीको प्रतिवेदन पनि सार्वजनिक गरेको हो।
प्रजननसम्बन्धीको विस्तृत अध्ययन तथा विश्लेषणसहितको प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले नेपालमा प्रजननसम्बन्धीका केही सूचकमा सकारात्मक सुधार देखिएपनि केही भने समग्र जनसंख्यामै चुनौती खडा गर्ने खालका रहेको देखाएको छ।
विशेषगरी न्यून प्रजनन् दर भविष्यका लागि चिन्ताजनक हुनसक्ने देखिएको छ। यो तथ्यांकअनुसार प्रजनन् दर प्रतिनस्थापन तहभन्दा तल झरेको पाइएको छ। कुनै पनि एक महिलाले आफ्नो कुल प्रजनन अवधिमा जन्माउने बच्चाको संख्या नै २.१ भन्दा न्यून भएमा प्रतिस्थापन तहभन्दा तल झरेको मानिन्छ।
एक महिलासँगै अर्को एक पुरुष पनि हुने भएकाले एक जोडीले कम्तिमा दुई जना बच्चा जन्माएपछि प्रजनन् सन्तुलित मानिन्छ। दुईभन्दा माथि भएमा जनसंख्या भविष्यमा बढ्ने र कम भएमा वृद्धिदर ऋणात्मक हुन्छ।
संसारका सयौँ धनी मुलुकले अहिले यही ऋणात्मक वृद्धिदरको मार खेपिरहेका छन्। अहिले नेपालको प्रजनन् दर १.९ रहेको छ। मधेश प्रदेश र कर्णालीकोमात्र प्रतिस्थापनभन्दा माथि छ तर धेरै जनसंख्या हुने बागमती र गण्डकी प्रदेशको भने न्यून रहेको छ।
प्रजननसम्बन्धी अधिकांश सूचक घटेका छन्। कोरा जन्मदर जुन एक वर्षमा एक हजार जनसंख्यामा जीवित जन्मको संख्या १० वर्षमै ५० बाट घटेर १४.२ मा झरेको छ।
प्रजन स्वास्थ्यमा चुनौती मानिएको छिटै विवाह गरेर अपरिपक्क शारिरीक अवस्थामै बच्चा जन्माउने र उमेर पाको भएपछि पनि निरन्तर प्रजनन्मा सहभागी हुने चुनौती भने समाधान भएको छ। २५ देखि ३९ को उमेर समूहमा प्रजनन् दरमा व्यापक सुधार आएको छ।
त्यस्तै कलिलै उमेरमा विवाह गरेर बच्च जन्माउने १५ देखि १९ को उमेर समूहको प्रजनन् दरमा पनि सुधार देखिएको छ। २०५८ मा प्रति हजारमा ७१ रहेकोमा २०७८ मा ४७ मा सीमित भएको छ।
२० देखि २४ वर्षको उमेर समूहको प्रजनन् दरमा पनि २०५८ को तुलनामा घटेको छ।
विवाहको औसत उमेरमा पनि सुधार भएको छ। २०५८ मा पुरुषको औसत विवाह गर्ने उमेर २२.९ वर्ष रहेकोमा २०७८ मा बढेर २५.५ वर्ष पुगेको छ भने महिलाको १९. ५ बाट २१.८ वर्षमा पुगेको छ।
सहरी क्षेत्रमा विवाह गर्ने औसत उमेर अझै धेरै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। ढिला विवाह गर्ने र न्यून प्रजनन गर्ने चलन बढ्दै जाँदा भविष्यमा नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक हुने जोखिम बढेको छ।
जनसंख्याको अर्को समस्या भनेको लैंगिक असन्तुलन देखिएको छ। छोरा जन्माउने चाहनाले छोरीको तुलनामा छोराहरूको जन्म धेरै भइरहेको तथ्यांकले देखाएको छ।