मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार घटेर एक दिन बढेको सेयर बजार पुन: ओरालोतिरै

मंगलबार, चैत १२ २०८१
लगातार घटेर एक दिन बढेको सेयर बजार पुन: ओरालोतिरै

काठमाडौं- चैत महिना लागेयता लगातार ओरालोतिर लागेको सेयर बजार एक दिनको कारोबारमा वृद्धितर्फ लागेर पुन: घटेको छ। लगातार ११९.७३ अंकले घटेपछि हिजो सोमबारको कारोबारमा वृद्धि देखिएको बजार आज मंगलबार पुन: घटेको हो। 

मंगलबार ५८.०५ अंकले घटेर बजार २५८२.७३ बिन्दुमा झरेको छ। ५ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको बजारमा चार कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २४० कम्पनीको सेयर मूल्य घटेको छ। मंगलबार गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर, उपकार लघुवित्त वित्तीय संस्था र उपल सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको मात्र सेयर मूल्य बढेको छ। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिएको छ। 

पछिल्लो समय लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर लागेर लगातार नै १७१.०७ अंकले घटेको सेयर बजारमा गएको साता बुधबार दोहोरो अंकको वृद्धि देखिएको थियो। त्यसयता  निरन्तर ओरालोमा रहेको बजार पुन: लगातार ११९.७३ अंकले घटेपछि हिजो सोमबार बढेको थियो। सोमबार २६.१० अंकले बढेर बजार २६४०.७८ बिन्दुमा पुगेको थियो।

'साइडवेज'मा रहेको बजारमा बढी ओरालोतिर लाग्दा बजारको गति आँकलन गर्न कठिन देखिएको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्। पछिल्लो समय राजनीतिक घटनाक्रममा बढेका विभिन्न हल्लाहरूले लगानीकर्ताको मनोविज्ञानमा असर गरिरहेको उनीहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, चैत १२ २०८११५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend