मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

रोकियो नेप्सेको ओरालो यात्रा, अब वृद्धिको लयमा फर्किएला?

सोमबार, चैत ११ २०८१
रोकियो नेप्सेको ओरालो यात्रा, अब वृद्धिको लयमा फर्किएला?

काठमाडौं- चैत महिना लागेयता लगातार ओरालोतिर लागेको सेयर बजारमा वृद्धि देखिएको छ। सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिएको थियो। 

पछिल्लो समय लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर लागेर लगातार नै १७१.०७ अंकले घटेको सेयर बजारमा गएको साता बुधबार दोहोरो अंकको वृद्धि देखिएको थियो। तर त्यसयता बजार निरन्तर ओरालोमा थियो। बजार पुन: लगातार ११९.७३ अंकले घटेपछि आज सोमबारको कारोबारमा वृद्धि देखिएको हो। 

सोमबार २६.१० अंकले बढेर बजार २६४०.७८ बिन्दुमा पुगेको छ। ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको बजारमा २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्य घटेको छ। यो साता पहिलो कारोबारमा आइतबार ५३.०४ अंकले घटेर बजार २६१६.२६ बिन्दुमा झरेको थियो।

'साइडवेज'मा रहेको बजारमा बढी ओरालोतिर लाग्दा बजारको गति आँकलन गर्न कठिन देखिएको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्। 

सोमबार एक दिनको वृद्धिले बजारको अवस्था नदेखाए पनि वृद्धितर्फ नै जाने अनुमान गर्न सकिने उनीहरूको भनाइ छ। पछिल्लो समय राजनीतिक घटनाक्रममा बढेका विभिन्न हल्लाहरूले लगानीकर्ताको मनोविज्ञानमा असर गरिरहेको उनीहरू बताउँछन्। 

 


प्रकाशित : सोमबार, चैत ११ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend