काठमाडौं- कोभिड महामारीको समयमा संसारभरका देशले विभिन्न आर्थिक समस्याको सामाना गरेर गुज्रिए। देश र अवस्थाअनुसारको समस्याको सामना गरेका थिए। सम्पत्ति हुनेहरू र नहुनेहरूका पनि आफ्नै समस्या थिए त्यतिबेला।
जस्तो सम्पन्न मुलुकमा सम्पत्ति धेरै हुनेहरू जसको आम्दानी भाडामा निर्भर थियो, त्यतिबेला भाडा बढ्ने त परको कुरा खाली हुने समस्या रहेको थियो। तर समस्या यति छिटै बदलियो कि आजका मितिमा विकसित विश्वमा भाडामा बस्नेहरू जोसँग सम्पत्ति थिएन उनीहरू समस्यामा फसेका छन् भने सम्पत्ति हुनेहरू मालामाल भएका छन्।
विकसित विश्वमा भाडाको वृद्धिदर डरलाग्दो दरमा बढिरहेको तथ्यांकहरू आएका छन्। महामारीअघिको समयमा विकसित विश्वमा भाडाको वृद्धिदर वार्षिक २ प्रतिशतभन्दा माथि थिएन तर अहिले भने वृद्धिदर ५ प्रतिशत पुगेको छ। जुन आधुनिक समयकै उच्च वृद्धिदर हो।
भाडाको वृद्धिदर पछिल्लो समय फ्रान्समा २.५ प्रतिशत रहेको छ जुन महामारीअघिको सामान्य समयमा ०.३ प्रतिशतमा सीमित थियो। अष्ट्रेलियामा भाडा वृद्धिदर २०१० को दशकको अन्त्यतिरको तुलनामा आठ गुणा बढी रहेको छ भने पोर्चुगलमा ७ प्रतिशतले बढेको छ। न्यूजिल्याण्डमा घरको मूल्य १५ प्रतिशतले घटेपनि भाडा भने १४ प्रतिशतले बढेको छ।
भाडाको वृद्धिदर यसरी बढ्नुका पछाडि विरासत अर्थतन्त्रको ठूलो योगदान भएको मानिएको छ। धनाढ्यहरूको हस्तान्तरण हुने सम्पत्तिले नयाँलाई प्रवेशमा रोक्ने तर मौजुदा सम्पत्तिको भाडामा उछाल देखिन्छ।
मुद्रास्फ्रिति नियन्त्रणका लागि निरन्तर काम गर्दै आएका विकसित मुलुका केन्द्रीय बैंकहरूका लागि अनियन्त्रित भाडाको वृद्धिदर चुनौतीका रुपमा खडा भएको छ।
विकसित मुलुकहरूमा भाडा मुद्रास्फीति सूचकांकको ६ प्रतिशतसम्म हिस्सा यस्तो भाडाको हुँदै आएको छ। कतिपय देशमा अझ योभन्दा धेरै हुने गरेको छ। जुन देशमा भाडामा बस्ने जनसंख्या जति बढी हुन्छ त्यति नै मूल्यवृद्धिमा यसको हिस्सा उच्च हुन्छ।
उच्च आप्रवासन र बढ्दो आर्थिक चुनौतीका बीचमा उच्च भाडादर र बढ्दो घरजग्गा मूल्यका कारण कतिपय मुलुकले आप्रवासन नीतिमै परिवर्तन गरेका छन्। पछिल्लो समय क्यानडाले यही कारणले अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनमा कडाइ गरेको थियो।
दर्जनौँ मुलुकमा आप्रवासीप्रति नकारात्मक भावनाको विस्तार भइरहेको छ भने त्यहाँ हुने निर्वाचनको मुख्य एजेन्डा नै आप्रवासन विरोधी हुन थालेको छ। अमेरिकादेखि युरोपसम्म आप्रवासन मुख्य सरोकारको विषय बनेको छ।
जति धेरै आप्रवासी उति धेरै हाउजिङ युनिटको माग बढ्ने र त्यसले मूल्य बढाउनुका साथै पहुँचबाहिर पुर्याउँछ। यसरी पहुँचबाहिर भएपछि भाडामा बस्नेहरू धेरै हुन्छन्। जति धेरै भाडामा बस्ने उति धेरै भाडा वृद्धि हुन्छ। यसरी वृद्धि हुँदा जीवनस्तर नै कठिन हुन्छ। यही कारणले आप्रवासन स्थानीय राजनीतिक मुद्दा बन्न थालेको छ।