मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

शीघ्र सुधारात्मक कारबाहीमा रहेको सिन्धु विकास बैंकले अगाडि सार्‍यो हकप्रद सेयर र मर्जरको प्रस्ताव

आइतबार, चैत १० २०८१
शीघ्र सुधारात्मक कारबाहीमा रहेको सिन्धु विकास बैंकले अगाडि सार्‍यो हकप्रद सेयर र मर्जरको प्रस्ताव

बैंकले १४ र १५औँ वार्षिक साधारणसभा एकैपटक गर्दै हकप्रद सेयर जारी गर्ने र मर्जरको प्रस्ताव पेस गर्ने भएको छ।

काठमाडौं- दुई वर्षपछि वार्षिक साधारणसभा गर्दै सिन्धु विकास बैंकले पुँजी वृद्धिको योजना अगाडि सारेको छ। बैंकले १४ र १५औँ वार्षिक साधारणसभा एकैपटक गर्दै हकप्रद सेयर जारी गर्ने र मर्जरको प्रस्ताव पेस गर्ने भएको छ।

क्षेत्रीयस्तरको बैंक बन्नका लागि आवश्यक पुँजी पुर्‍याउन बैंकले १ बराबर १.१६ हकप्रद सेयर जारी गर्ने योजना अगाडि सारेको हो। यस्तै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि सम्पत्ति तथा दायित्व ड्यु डेलिजेन्स गरेर अगाडि बढ्ने प्रस्ताव बैंकले अगाडि सारेको छ।

यस बैंकको वित्तीय स्थिति खासै उत्साहजनक छैन। बैंकको वित्तीय स्थिति बिग्रिएको भन्दै राष्ट्र बैंकले सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष तथा सञ्चालकहरुलाई कारबाही गर्दै हटाइसकेको छ।

सिन्धु विकास बैंक क्षेत्रीयस्तरको विकास बैंक भएकाले उक्त फ्रेमवर्कअनुसार यस बैंकले प्राथमिक पुँजीकोष (टायरवान) ६ प्रतिशत र न्यूनतम पुँजीकोष (टायर टु) १० प्रतिशत कायम गर्नुपर्ने हुन्छ। तर गत वर्षको अन्तिम त्रैमासमा सिन्धु विकास बैंकको पुँजीकोष उच्च दरमा घटेको पाएपछि राष्ट्र बैंकले गत असार ११ गतेबाट शीघ्र सुधारात्मक कारबाही थालिसकेको छ। यसका साथै राष्ट्र बैंकले कर्जा दुरुपयोग गरेको आरोपमा बैंकका पूर्वअध्यक्षलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको थियो। 

बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले २ करोड ५ लाख रुपैयाँबराबरको चेक खरिद गरेर सेयर फुकुवा गरी कर्जा दुरुपयोगको मतियार बनेको भन्दै राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गराएको हो। 

राष्ट्र बैंकको एकीकृत निर्देशनविपरीत चेकलाई धितो कायम गरी सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गराएको भन्दै राष्ट्र बैंकले श्रेष्ठमाथि सबैभन्दा माथिल्लोस्तरको नियामकीय कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो। 

व्यक्तिगत जमानीमा ऋण प्रवाह गरी कर्जाको साधारण ब्याज मिनाह गरी साँवामात्रै असुलउपर गर्ने निर्णय सञ्चालक समितिबाट गराएको भन्दै तत्कालीन अध्यक्ष श्रेष्ठविरुद्ध राष्ट्र बैंकले कारबाही गरेको हो। 

सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बैंकको लगानीकर्ता, निक्षेपकर्ता र सर्वसाधारणको हितविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले उनलाई नियामकीय कारबाही गरेको हो।

सिन्धु विकास बैंकको असार १३ गते बसेको सञ्चालक समितिले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो। श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर कर्मचारी सञ्चयकोषका प्रतिनिधि दामोदरप्रसाद सुवेदीलाई अध्यक्ष बनाइएको छ। 


प्रकाशित : आइतबार, चैत १० २०८१११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend