काठमाडौं- यो साता चुनावका लागि भएको सहमतिको प्रभाव सेयर बजार कारोबारमा देखिएको छ। चार दिन कारोबार भएको सातामा एक दिन उच्च अंक र एक दिन सामान्य अंकको वृद्धिसँगै दुई दिन भने करेक्सन देखिएको छ। जसले गएको साता १५१.३२ अंकले घटेको बजार यो साता ९५.७५ अंकले बढ्यो।
यो साता कारोबारको अन्तिम दिन बिहीबार बजारमा निकै उतारचढाव देखिँदै अन्तिममा घट्न पुग्यो। १४.५८ अंकले घटेर बजार २८७६.७५ बिन्दुमा झरेको छ। बिहीबार कारोबार रकममा भने वृद्धि नै देखिएको छ। १ करोड ५७ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएको छ। बिहीबार ४५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३७ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
यो साता चुनावका लागि सहमति बन्ने देखिँदा आइतबार एकैदिन १०५.५५ अंकले बढेको सेयर बजारमा सोमबार भने उतारचढावका बीच करेक्सन देखिएको थियो। सोमबार १४.४८ अंकले घटेको बजार मंगलबार पुन: चुनावी सहमति देखिएसँगै बढेको थियो।
मंगलबारको कारोबारमा सुरुमा घटेर उतारचढाव भए पनि चुनाव हुने पक्का भएपछि बजार फर्किएको थियो। मंगलबार १९.२६ अंकले बढेर बजार २८९१.३० बिन्दुमा पुगेको थियो। बुधबार बन्द रहेको बजारमा बिहीबारको अवस्थाले उताचढाव देखाएको छ। तर विश्लेषकहरू यसलाई उच्च बिन्दुमा जाने संकेतका रुपमा अर्थ्याइरहेका छन्। साताभर ९५.७५ अंकको वृद्धिले पनि बजार माथि जाने संकेत नै गरिरहेको उनीहरूको भनाइ छ।
यसअघि पुस ५ गतेदेखि ५६२ अंकले बढेको बजारमा गएको साता आइतबारदेखि बिहीबारसम्मको कारोबारमा १५१.३२ अंकले गिरावट आएको थियो। तर यो साताको कारोबारले बजार उक्लने क्रमलाई नै साथ दिएको छ।
गएको साता बजारमा गिरावट आइरहँदा पनि विश्लेषकहरूले मौसमी परिवर्तन देखिएको र बजार घट्ने ठाउँ नरहेको बताइरहेका थिए। यो साता देखिएको वृद्धिले समेत सेयर बजारमा अहिले सबै सूचकहरू राम्रो हुँदै गएकोले २२ अर्ब कारोबार र ३२०० अंकलाई उछिनेर माथि जाने देखिएको विश्लेषकहरूको भनाइ छ।
चुनावी घोषणा कुरेर पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता चुनावी मितिमा दलहरू सहमत भएसँगै विश्वस्त भइरहेका छन्। चुनावी वर्षमा सेयर लगानीकर्ता उत्साहित भएर लगानी गर्ने भएकोले अपवादबाहेक बजार बढ्ने गरेको सेयर विश्लेषकहरू बताउँछन्।