हेटौँडा- यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन्। मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उनीहरुले खेती गरेका हुन्।
पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ। आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन्। आफ्नो जमिन नभएकी दलित समुदायकी चम्पामाया परियारले खेतीबाट राम्रो आम्दानी गरिरहेकी छिन्।
पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया बिहान सबेरै घरको काम सकेर गोठका गाईवस्तुलाई घाँस पराल दिन सामुदायिक वनभित्रको हाइटेन्सनमुनि पुग्छिन्। जडीबुटी आयआर्जन समूह नै बनाएर उक्त समूहका सदस्यसहित गरिएको खेतीले उहाँलाई आत्मसन्तुष्टिसँगै आर्यआर्जनका लागि बाटो बनाइदिएको उनी बताउँछिन्।
घरमा पालिएका गाईबाख्रालाई पनि जडीबुटीखेती गरिएको स्थानबाटै घाँसको व्यवस्था हुन्छ। आयआर्जनका मुख्यस्रोत जडीबुटीखेती बनाउन कम्मर कसेर लागेकी परियारलाई सामुदायिक वनको हाइटेन्सनमुनि गरिएको जडीबुटी र घाँसपातसँगको लगाव र झुकावले घर बस्नै नसक्ने बनाएको छ।
नौ वर्षअघिदेखि वनस्पति कार्यालयबाट उपलब्ध गराइएकोे सर्पगन्धाबाट सुरु गरिएको खेती पछि गएर उनले समूहसँग मिलेर बेसार र अदुवाखेतीको पनि विस्तार गरेकी हुन्। उनीहरूले उत्पादन गरेको जडीबुटी, अदुवा, बेसार बिक्री गर्न खासै समस्या नभए पनि बीउपुँजी बढाउन पाए हुने भन्ने उनलाई लागेको छ। पानी पर्दा ओत लाग्न र खेतीलाई अस्थायी रूपमा भित्र्याउन खेती भइरहेको स्थानमा नै टहरा निर्माण गरेकी छिन्। उक्त टहरा निर्माणका लागि बागमती प्रदेशसभा सदस्य भारती पाठकको आर्थिक सहयोग, समूहको श्रमदानबाट सम्भव भएको चम्पामायाको भनाइ छ।
चम्पामायालाई अहिलेको समूहकी अध्यक्ष चम्पा बन्नका लागि निकै संघर्ष गर्नुपरेको थियो। सानो उमेरमा दमाई भनेर हेपिएकी उनी अहिले समुदायकै प्रेरणा बनेकी छिन्। समूहमा लागेर साधारण लेखपढ गर्न, बोल्न र नेतृत्व विकास गरेकी उनको जीवन अहिले जति सुन्दर देखिन्छ। उनले भोगेको दुःखको कथा पनि त्यत्तिकै कहालीलाग्दो छ।
सानो छँदा उनलाई हेप्नेमात्र होइन, नागरिकता बनाउँदा पनि उनको थर दमाई लेखिएको सम्झँदै तत्कालीन नागरिकता वितरण गर्ने अधिकारीप्रति आक्रोश पोखिन्। उनको मात्र होइन, उनका श्रीमान्को नागरिकतामा पनि थर दमाई उल्लेख गरिएको छ। सोही कारण आफ्ना छोराछोरीको नागरिकतामा पनि दमाई लेखिएको बताउँदै उक्त कारणले छोराछोरीमा हीनताबोध गराएको उनी सुनाउँछिन्।
उक्त क्षेत्रका महिलाको आदर्श बनेकी उनले यही समाजमा रहन बस्न निकै संघर्ष गर्नुपरेको सम्झिन्छिन्। मकवानपुरको मकरीमा जन्मिकी परियारको पारिवारिक तथा पुख्र्याैली काम भनेको कपडा सिलाउनु थियो। तर अन्य समुदायमा छोराछोरीबीच विभेद भएजस्तै उनको घरमा पनि उनलाई खाना बनाउन सिकाइन्थ्यो भने उनका दाजुभाइलाई कपडा सिलाउन सिकाउने गरेको उनले बताइन्। खेत जोत्ने, किसानी गर्ने परिवारमा विवाह भएर गएपछि खेत जोत्ने, वन जाने, मेला जाने मेरो दैनिकी नै भयो। त्यही क्रममा गर्भवती हुँदा समेत रूखबाट लडेर थला परेँ, छोरासमेत गुमाएको उनले बताइन्।
मकवानपुरको सरिखेतबाट मनहरीमा बसाइँ सरेर आएपछि उनी अनेमसंघमा आबद्ध भइन्। उनले सोही समयबाट प्रौढ शिक्षा पढेर साधारण लेखपढ गर्न जान्ने भएको बताइन्। सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटामा प्रवेश गरेको भए पनि दलित भनेर दयाको आधारमा सीमित हुन नचाहेको उनले बताइन्। उनले भनिन्, 'दलित त मलाई समुदायले बनाएको हो म के बन्ने भन्ने त मेरो निर्णय हो जस्तो लाग्यो, त्यसपछि सिक्ने र गर्ने काम केही छोडिनँ। बोल्ने र काम गर्ने आँट भने यो सामुदायिक वनको सदस्य भएपछि बन्यो।'
बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेको चम्पामायाको भनाइ छ। सामुदायिक वनले जीवन फेरिएको उदाहरण आफ्नो समूह रहेको बताउँदै उहाँ भनिन्, 'खेती गरौँ जमिन छैन, अरू काम गर्न लगानी छैन, यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासंघले ल्याएको यो कार्यक्रमले हामीलाई परिवर्तन नै गरिदिएको छ।' सानो लगानीबाट बाख्रापालन सुरू गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उनको भनाइ छ।
हाल सामुदायिक वनले ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम ल्याएको छ भने यस कार्यक्रमले आफूहरूलाई जीवन निर्वाहका लागि निकै मद्दत पुगेको चम्पामायाको धारणा छ। पशुपति सामुदायिक वनमा जडीबुटी, डिपाट सामुदायिक वनमा प्रांगारिक मल र तेजपत्ता, सुनाचुरी सामुदायिक वनमा तेजपत्ता र कागतीखेती गरेर महिलाहरूले वनलाई आर्थिक स्रोतको माध्यम बनाइरहेका छन्। रासस