काठमाडौं- प्रतिनिधिसभाको आज बिहीबार बसेको बैठकमा सांसदहरूले व्यक्त गरेको धारणाप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसद गंगा कार्कीले तातोपानी भन्सार नाकाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ५४९६ नम्बरको ट्रक बाह्रबिसेस्थित खोर्सानीबारीको अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको उल्लेख गर्दै त्यो गाडी भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङको भएको जानकारीमा आएकाले निजलाई कानुनी कारबाही गर्न भन्दै संसदमा बोलेकी थिइन्।
यसैगरी सांसद मनिष झाले केही दिनअघि समातिएको २५ करोड रकमका मालिक पत्ता लगाउन सरकारसँग माग गरेका थिए। उनले बाह्रबिसेमा समातिएको अवैधरुपमा भेप भित्र्याउनेलाई कारबाही गर्न पनि माग गरेका थिए। ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकबाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाइ संरक्षण नगरियोस् भन्न चाहन्छु’ झाले भनेका थिए।
'सार्वभौम जनताका प्रतिनिधिमूलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरु तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौँ। तथापी सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी व्यक्त गरेको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ' गुरुङले विज्ञप्तिमार्फत भनेका छन्।
सांसदको भनाइलाई उद्धृत गर्दै आएका समाचारप्रति पनि आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्, 'तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने जानकारी गराउन चाहन्छौँ।'
तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य भएको उनले जनाएका छन्।
'मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपिल गर्न चाहन्छौँ। पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ' विज्ञप्तिमा भनिएको छ।
अघि भनिएको छ, 'भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि विश्वास दिलाउन चाहन्छौँ। अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भन्ने हाम्रो ठहर छ।'
एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्नुहुन पनि गुरुङले विज्ञप्तिमार्फत अपिल गरेका छन्।