काठमाडौं- अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ गरिएकोप्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
केही समयअगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको, त्यसले उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको स्मरण गर्दै अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको सीएनआईले जनाएको छ।
यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको उद्योग परिसंघको भनाइ छ।
'सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानूनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको छ', भन्दै सीएनआईले विज्ञप्ति जारी गरेको छ।
'मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराइ निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरुमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन?' सीएनआईको प्रश्न छ।
विद्युत कुनै पनि उद्योगहरुका लागि कच्चा पदार्थ हो। कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव हुँदैन। त्यसैले उद्योगलाई नियमित विद्युत आपूर्ति हुने व्यवस्था तत्काल गर्न परिसंघले सरकार एवं सम्बन्धित पक्षसँग अपिल गरेको छ।