काठमाडौं- उद्योगहरूमा चरम लोडसेडिङको अवस्था आएसँगै साँझको समयमा पनि दैनिक २ सय ३० मेगावाट बिजुली उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत भारतलाई प्रस्ताव पठाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा भारतीय दूतावासमार्फत बेलुका ६ देखि १० बजेसम्म २ सय ३० मेगावाट बिजुली उपलब्ध गराउन आग्रहसहितको प्रस्ताव बुधबार पठाइएको हो।
भारतले सोलार आवरमा मात्रै बिजुली दिन थालेपछि नेपालमा बिजुलीको लोड धान्न मुस्किल भएको छ। नेपालबाट उत्पादित बिजुली अधिकांश 'रन अफ दि रिभर' भएको र अहिले सुक्खायाममा बिजुली उत्पादन घटेर एक हजार मेगावाटमा सीमित भएको छ। वर्षातमा ३३ सय मेगावाट भएपनि हिउँदमा उत्पादन घटेर लोड धान्न मुस्किल भएको छ।
यसैले विगतका वर्षमा रातको समयमा पनि भारतबाट बिजुली आयात गरेर लोड धान्ने गरिएको थियो। अहिले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै भारतले बिजुली दिएपछि नेपालमा भने हाहाकार हुने स्थिति आएको छ। उद्योगमा १२ घण्टाभन्दा बढी लोडसेडिङ जारी छ।
'साँझको समयमा उद्योगमा बिजुली काट्दासमेत धान्न नसक्ने अवस्था आएपछि परराष्ट्रमार्फत आग्रह गरिएको छ.' ऊर्जामन्त्री दीपक खड्काले भने।
उद्योगमा लोडेसेडिङ जारी नै छ भने यता घरायासी उपभोक्ताकोमा पनि समस्या आउन सक्ने देखिएकोले भारतलाई आग्रह गरिएको र भारत पनि २३० मेगावाट बिजुली दिन सकारात्मक भएकोले समस्या समाधान हुने आशा गरिएको खड्का बताउँछन्। 'साँझमा भारतबाट आयात गर्न सकियो भने उद्योगलाई पनि केही राहत हुने देखिएको छ,' मन्त्री खड्काले भने।
परराष्ट्र मन्त्री डा आरजु राणाले भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई पनि साँझको समयमा बिजुली आयातको अनुमति दिन आग्रह गरेकी छिन्।
यता भारतीय दूतावासाले नेपालमा साँझको समयमा बिजुली दिनका लागि भारतीय ऊर्जा मन्त्रालयमा समन्वय अगाडि बढाएको छ। 'केही दिनमै बिजुलीको व्यवस्थापन हुने देखिन्छ, भारतबाट सुक्खायाममा बिजुली नआउँदा यहाँ कठिन हुने पहिलेदेखिकै समस्या भएकोले ठूला परियोजना अगाडि बढाएर दीर्घकालीन समाधान खोज्नुको विकल्प छैन' मन्त्री खड्काले बताए।
यता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने ठूला उद्योगमा २४ सै घण्टा लाइन काट्ने तयारीमा छन्। उनले विगतदेखि नै ठूला उद्योगमा लाइन काटेर लोड व्यवस्थापन गर्ने र लोडसेडिङ अन्त्य भएको भन्दै आएका थिए। तर यसपटक भारतले साँझमा बिजुली नदिएपछि विगतको ढाकछोपको अवस्था बाहिरएको प्राधिकरणकै उच्च अधिकारीहरू बताउँछन्।
बिजुली नपाउँदा प्रत्येक दिन ८ घण्टा लोडसेडिङ भोग्दै आएका उद्योगमा अहिले १२ घण्टा लोडसेडिङ सुरु भएको छ। भारतबाट ७ सय मेगावाटभन्दा धेरै बिजुली आयात भइरहेको बेला गत शनिबारदेखि ‘सोलार आवर’मा मात्रै दिएको छ। जसका कारण लोड व्यवस्थापन गर्न नसकेपछि फेरि डेडिकेटेड र ट्रंकलाइनको विषय उठाएर उद्योगहरूमा लाइन काट्ने तयारी घिसिङले गरेका छन्।
प्राधिकरणले भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली किन्दै आन्तरिक माग पूर्ति गर्ने प्रयास गर्दै आएको छ। विद्युत उत्पादन कम हुने मार्च १५ देखि मे १५ सम्म तीन महिनाको समयमा भारतीय एक्सचेन्ज मार्केटमा ‘सोलार आवर’ अर्थात बिहान ६ देखि बेलुकी ६ बजेसम्म मात्रै बिजुली आयात गर्न सकिन्छ। रातिको समयमा आयात गर्न नदिएपछि औद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ सुरू गरेको छ।