काठमाडौं- विगत दुई वर्षयता बैंकहरुको कर्जा असुली (रिकभरी) प्रभावित छ। अर्थतन्त्र शिथिल हुँदा बैंकहरूको खराब कर्जाको ग्राफ निरन्तर बढिरहेको छ। खराब कर्जा बढेकाले बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाबापत ठूलो रकम खर्च बुक गर्नुपर्दा बैंकहरूको नाफा निरन्तर घटिरहेको छ।
अधिकांश बैंकहरूले वितरणयोग्य घाटाका कारण विगत दुई वर्षदेखि लाभांश वितरण गर्न सकेका छैनन्। कतिपय बैंकहरूले कर्जा नउठाइ प्राथमिक पुँजीकोष पुग्ने अवस्था छैन। प्राथमिक पुँजीकोष नपुगेमा राष्ट्र बैंकले कर्जा लगानी र लाभांश वितरण रोकेर रिकभरीमा जान बैंकहरूलाई दबाब दिन्छ।
पछिल्लो समय राम्रा भनिएका बैंकहरू नै कर्जा असुली नभएको भन्दै ठूलो दबाबमा छन्। अधिकांश बैंकहरूको खराब कर्जा ५ प्रतिशतनजिक छ। एभरेष्ट, स्टाण्डर्डच चार्टर्ड, सानिमा, नेपाल एसबिआई र एनएमबि बैंकलाई छोड्ने हो सबै बैंकहरूको खराब कर्जा ५ प्रतिशतको आँकडालाई छुने अवस्थामा पुगेको छ। कुमारी बैंकको खराब कर्जा ७ प्रतिशतनजिक पुगेको छ भने लक्ष्मीसनराइज, नेपाल इन्भेष्टमेन्ट मेगाको ५ प्रतिशतमाथि रहेको छ।
बैंकहरूको खराब कर्जा ५ प्रतिशतमाथि पुगेको भन्दै राष्ट्र बैंकले कर्मचारीको रकम लगानी गर्ने व्यवस्था ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याएको छ। खराब कर्जा घटाउन यसबेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु नै दौडधुपमा छन्। ऋणीहरुलाई प्रत्यक्ष भेटर कर्जाको साँवा ब्याज भुक्तानी गरिदिनका लागि आग्रह र एक तहसम्म दबाब नै पनि दिइरहेका छन्।
पुँजीकोष सहज रहेका र खराब कर्जा न्यून भएकाबाहेक अधिकांश बैंकका सीईओहरू असुली बढाउन देशदौडाहामा छन्। कहिले पूर्व त कहिले पश्चिम पुगेर उनीहरू ऋणको साँवा ब्याज भुक्तानी गरिदिन ऋणीहरूलाई आग्रह गरिरहेका छन्।
असुली बढाउन प्रयास गर्नुका साथै बैंकका सीईओहरू धितो बिक्री तथा लिलामी प्रकृयाका लागि पनि देशभर यात्रा गरिरहेका हुन्। तर बैंकका प्रमुखहरूको ताकेताबाबजुत न त ऋणको साँवा ब्याज नै उठ्छ न त गैरबैंकिङ सम्पत्ति बिक्री नै भएको छ।
कतैबाट पनि असुलीमा सुधार हुने संकेत नदेखिएपछि सीईओहरूमा निरासा देखिन थालेको छ। तेस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा थप बढ्ने भयो भन्दै उनीहरु चिन्तित देखिन्छन्।
'रिकभरीका लागि भर्खर धनगढी पुगेर आएको। ऋण उठ्ने कुनै छाँटकाँट नै देखिँदैन। आगामी त्रैमासमा असुली बढाएर वित्तीय विवतरण सुधार्न सकिएला कि भनेको तर परिस्थिति सहज छैन', एक बैंकका सीईओले बताए।
यस्तै अवस्था अन्य बैंकका सीईओहरूको पनि छ। यतिबेला बैंकका सीईओहरू रिकभरीका लागि हिँडेकाले कार्यकालयमा भेटिन छाडेका छन्।
पछिल्लो समय जग्गाको कारोबार ठप्प भएकाले बैंकहरखले सकारेको धितो लिलामी बिक्री नै भइरहेको छैन। धितो लिलामी बिक्री गरेर बैंकहरू खराब कर्जा घटाउँदै नाफामा सुधार गर्ने पक्षमा भएपनि धितोसमेत बिक्री हुन सकेको छैन।
बैंकहरूले मूल्य नै घटाउँदै घाटा नै सहेर भएपनि धितो बिक्रीका लागि आह्वान गर्दा पनि बिक्री हुन सकेको छैन। जसले गर्दा पछिल्लो समय बैंकका सीईओहरू निकै तनाबमा देखिन्छन्।
अर्थतन्त्रमा सुधार नहुँदा रिकभरीमा समस्या देखिएको उनीहरूको भनाइ छ। अर्थतन्त्र चलायमान नहुँदासम्म बैंकहरूको खराब कर्जा घट्ने अवस्था रहेको कतिपय सीईओहरीको तर्क छ।
'अर्थतन्त्र चलायमान भएमा खराब कर्जा घट्छ। नत्र खराब कर्जा घट्ने अवस्था देखिँदैन। ऋणको साँवा ब्याज नै उठाउन सकस भएपछि खराब कर्जा कसरी घटाउन सकिएला र?' एक अर्का सीईओले बताए।