काठमाडौं- अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरूका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उद्देश्यसहित महिला उद्यमी महासंघ नेपालले पाँच दिने ८औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शोभा ज्ञवालीले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने यस मेलामा देशभरका महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा बिक्री वितरण हुने जानकारी दिइन्।
उनका अनुसार मेला स्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तरराष्ट्रिय गरी छ प्रकारका स्टलहरू रहनेछ।
जम्मा एकसय ४४ वटा बिक्री स्टलहरू राखिनेछ। जसमा दुई वटा ‘प्याभिलियन’ राखिनेछ। त्यसैगरी ८२ वटा स्टलहरू स्वदेशी तथा विदेशी महिला उद्यमीहरूलाई उपलब्ध गराइने छ।
करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गर्ने महासंघको अनुमान छ। यस मेलामा करिब दुई करोड २५ लाख रूपैयाँ बराबरको कारोबार गर्ने अनुमान गरिएको छ।