काठमाडौं- नेपाल जेसिसले चितवनमा 'बिजनेस एक्स्पो' गर्ने भएको छ। नारायणी नदीको तटमा जेसिसले आगामी चैत ७ देखि १८ गतेसम्म 'जेसीआई नेपाल बिजनेस एक्स्पो, २०२५' आयोजना गर्न लागेको हो।
जेसिसले यस्तो एक्स्पो पहिलो पटक गर्न लागेको हो। नेपालको आन्तरिक उत्पादनलाई प्रवद्धन गर्ने उद्देश्यसहित जेसिसले यस्तो एक्स्पो आयोजना गर्न लागेको हो। एक्स्पोले उद्यमी व्यवसायी र उपभोक्ताबीच पुलको काम गर्ने आयोजकले जनाएको छ।
एक्स्पोमार्फत व्यवसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्ने अपेक्षा गरिएको छ। कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगै एक्स्पोलाई औद्योगिक फ्लेवर दिन खोजेको आयोजकले जनाएको छ।
यस एक्स्पोमार्फत आर्थिक एवम औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा केन्द्रित दैनिकरुपमा फरक विषयहरूमा नीतिगत छलफल, अनुभव आदान प्रदान गर्न अन्तरक्रिया तथा सेमिनारहरू आयोजना गर्ने बताइएको छ।
यसमा विभिन्न क्षेत्रहरूलाई समेटर समिट आयोजना गर्ने बताइएको छ। उद्यमशीलता तथा नवप्रवर्तन, फाइनान्स एण्ड विजनेस,शिक्षा, कृषि, पर्यटन लगायतका समिटहरू आयोजना हुने जेसिसले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।
यस एक्स्पोले देशभरका युवा उद्यमीलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास जेसिसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवं संयोजक गेणश सापकोटाले बताए।
'जेसिस नेपालले युवा उद्यमीहरूलाई समेट्दै चितवनमा जेसीआई नेपाल बिजनेश एक्स्पो आयोजना गर्दैछ। चैत ७ गतेबाट सुरु हुने यस एक्स्पोले युवा उद्यमी, व्यवसायीहरूलाई एकै स्थानमा व्यवसाय प्रबर्द्धनको मौका दिनेछ। देशभरक आन्तरिक उत्पादन प्रवद्धन गर्ने उद्देश्य सहित देशभरका व्यवसायीहरूलाई जोड्ने काम जसिसले पहिलो पटक गर्न लागेको छ। यस एक्स्पोले जेसिस', सापकोटाले बताए।
पुँजी नभएका तर उद्यमीशिलता गर्ने चाहाना भएकाहरूका लागि जेसिस नेपाल र आयोजना हुन लागेको एक्स्पो महत्वपूर्ण प्लाटफर्म हुने जेसीस नेपालकी राष्ट्रिय अध्यक्ष रजनी थापाले बताइन्।
देशभर रहेका जेसिस सदस्यहरूको नेटवर्क मार्फत व्यवसायिक गतिविधि सञ्चालन गर्न सकिने भएकाले पुँजी नहुनेहरूका लागि जसिस सञ्चालन गर्ने हेरक गतिविधि महत्वपूर्ण हुने अध्यक्ष थापाको भनाइ छ।
'देशभर रहेका जसिसका सदस्यहरूलाई समेत यो एक्स्पो महत्वपूर्ण छ। उद्यमशीलताका चाहाना भएका तर पुँजी अभाव भएकाहरूका लागि जेसिसको नेटवर्क नै महत्वपूर्ण छ। मुलुकभर रहेका जसिसहरूसँग सम्बन्ध स्थापना गरेर ब्यापार प्रवर्द्धन गर्न सहज हुन्छ। यस एक्स्पोमा जसिसमा रहेका युवा उद्यमीहरू पनि सहभागी हुँदै हुनुहुन्छ। यसका साथ देशभर नै रहेका १८ देखि ४० वर्षका युवा उद्यमीहरूलाई हामीले एक्स्पोमा जोड्ने लक्ष्य लिएका छौं। कृषि,पर्यटन, फाइनान्स, आईटी तथा एआई घरेलु उत्पादकहरू एक्स्पोमा सहभागी हुने हाम्रो अपेक्षा छ', थापाले बताइन्।
एक्स्पोमा २५० स्टल रहने आयोजकले जनाएको छ। एक्स्पोमा न्यूनतमरुपमा १० करोडको कारोबार हुने अपेक्षा आयोजकको छ। यस्तै यस एक्स्पोमा नविन प्रविधि, बैकल्पिक उर्जा, शिक्षा, स्वास्थ्य, पर्यटन, स्थानीय संस्कृति लगायतका सेवामूलक क्षेत्रहरूको समेत स्टल रहेने आयोजकले जनाएको छ।
बीटूबी प्लेटफर्म, बिजनेस क्लिनिक, रोजगार नेपाल, हाम्रो उत्पादन हाम्रो गौरब, पर्यटन प्रवद्धन र थिमेटिक शेसनहरू सञ्चालन हुने आयोजकले जनाएको छ।
यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती समेटे खुला ब्याड प्रतियोगिता आयोजना गर्ने जनाएको छ। नेपाल जेसिस १८ देखि ४० वर्षका युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको एक सामाजिक संस्था हो।